बिमा लोभमा लगाए आफ्नै पसलमा आगो, परे प्रहरीको फन्दामा

विजय नेपाल २० साउन २०८१ १९:१०
142
SHARES
बिमा लोभमा लगाए आफ्नै पसलमा आगो, परे प्रहरीको फन्दामा

पोखरा- बिमा रकम लोभमा आफ्नै पसलमा आगो लगाउने दुई जना युवा प्रहरीको फन्दामा परेका छन्। यो घटना हो, पोखराको।

गत १६ साउनमा पोखरा-६, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा भएको आगलागी विद्युत् सर्ट नभई बिमा लोभमा जानाजान लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो। उक्त आगलागीमा डेढ करोड रुपैयाँ क्षति भएको बताइएको थियो।

उक्त कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पसल सञ्चालक ३६ वर्षीय सुजन गहतरात र ४३ वर्षीय पवन नेपाल हुन्। पोखरा-१७, ड्यामसाइडका गहतराज पसल सञ्चालक हुन्। उनले डा. थानेश्वर पहारीको घरमा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए।

चार दिन अघिको सो घटनामा राति करिब २ बजेर १० मिनेटमा उक्त सपिङ सेन्टरमा आगो लागेको थाहा पाएपछि स्थानीयसहित प्रहरीको सहयोगमा राति नै ३ बजेर उक्त आगो नियन्त्रणमा आएको थियो। जसमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाको नेतृत्वमा प्रहरी खटिएको थियो। यस्तै पोखरा महानगरपालिकाद्वारा सञ्चालित दमकल, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र ठूलो संख्यामा स्थानीयवासी खटिएका थिए।

घटना विवरण अनुसार, आगो लागेपछि पसल संचालक सुजन गहतराले पसलमा के कसरी आगो लागेको हो भनी गत १७ साउनमा वडा प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए। निवेदनपछि प्रहरीले अनुसन्धान थाल्यो। गहतराजले आफूले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वायरिङबाट सर्ट भई आगो लागेको प्रारम्भिक बयान दिए। तर पसलको बिमा नगराएको बताए।

अनुसन्धानका क्रममा इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग प्रहरीले यसबारे बुझ्यो। इन्भर्टर जोड्ने क्रममा आगो लागे पनि इन्भर्टरबाट आगो नलाग्ने जवाफ प्रहरीले पायो। साथै विद्युत् प्राधिकरणसँग बुझ्दा समेत कुनै कैफियत नभएको भेटियो।

प्रहरी यत्तिमै रोकिएन। अनुसन्धानका क्रममा उक्त पसलको पोखराकै न्यूरोडस्थित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट २ करोड १० लाख बराबरको बिमा गराएको र पसलमा आगो लागेको भनी गत १७ साउनमा बिमा दाबीको मागका लागि निवेदन समेत पेस भएको भेटियो।

प्रहरी अनुसन्धानका क्रममा पसलसमेत खासै नचलेको बताउँदै आएका गहतरातले बिमाको लोभमा पोखरा-१७ निवासी पवन नेपालको सहयोगमा आगो लगाउने योजना बुनेको पाइयो। सोही योजनामुताबिक गहतराजले घरबाट गाडीमा स्प्रिटको ग्यालेन समेत राख्छन्। घटना भएको दिन राति करिब ११ बजे उनले साथी नेपाललाई बोलाउँछन्। उनीहरूले पोखरा-१७ ड्यामसाइडको फेवा झिर रेष्टुरेन्टमा ५ वटा बियर पिउँछन्। पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने नेपालको सुझावअनुसार त्यही राति नै आगो लगाउने सरसल्लाह हुन्छ।

गहतराजले चलाउने गरेको ग ३ च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन्। उनीहरू सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन्। उनीहरू दुवै जना १०-१५ मिनेटभित्र बसी बाहिर निस्की गहतराजले सटर लगाइ आफू हतारहतार गरी सोही गाडी चढी नजिकैको तालबाराही स्कुलतर्फ लाग्छन्। त्यसबेला नेपाल पसलको बाहिरपट्टि बसिरहेका थिए। उनीहरू गाडी चढ्दैनन्। गहतराज गएको अन्दाजी १-२ सेकेण्डमै नेपालले सलाई बाली एक्कासि आगो सल्काएको अनुसन्धानमा भेटिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले बताए।

साविती बयानमा समेत गहतराजले बिमाको रकमको लागि पसलमा आगो लागेको बताएका छ्न। उता नेपालसँग प्रारम्भिक सोधपुछमा आफूले पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट ३१ लाख बिमा लिएको र गहतराज सोही कुराबाट प्रभावित भई योजना बनाएको बताएका छन्।

पसलमा ठूलो मात्रामा सामान स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा बेलाबेलामा विवाद हुने गरेको बताइएको छ। उक्त आपराधिक क्रियाकलापमा संलग्नमध्ये नेपालको यसअघि कुनै आपराधिक क्रियाकलापको विवरण नभेटिएको प्रहरीले जनायो। तर पसल सञ्चालक गहतराज भने २०७२ सालमा पनि जुवा मुद्दामा पक्राउ परेका थिए।

उनीहरू दुवै जनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० साउन २०८१ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =