एक वर्षमा १४० व्यावसायिक फर्म कारबाहीमा

हिमाल प्रेस १८ साउन २०८१ १६:१२
6
SHARES
एक वर्षमा १४० व्यावसायिक फर्म कारबाहीमा

नेपालगन्ज-  वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा १४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत ३२ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

बिल, बीजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको, गुणस्तर कायम नभएका ती फर्महरूलाई न्यूनतम् पाँच हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्म जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मा ६२८ फर्मको अनुगमन गर्दा १४० मा कैफियत भेटिएपछि त्यस्ता फर्मलाई जरिवाना गरिएको हो । तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले गत आवमा अनुगमन गर्दा ३४९ फर्म सामान्य अवस्थामा रहेको देखिएको थियो । सामान्य कैफियत देखिएका १३९ फर्मलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सो कार्यालयले गत आवमा दुई फर्मको कारोबारसमेत रोक्का गरेको छ ।

वाणिज्य कार्यालयले किराना खाद्यान्न, मासु/फ्रेस हाउस, मार्ट, पानी उद्योग, कस्मेटिक, कपडा जुत्ता पसल, अटो पार्ट्स, कम्प्युटर सेवा, मदिरा/सुर्तीजन्य पदार्थ, दुग्ध तथा तरकारी पसल, भाँडावर्तन, मनी ट्रान्सफर, सुनचाँदी, स्टेसनरी, हार्डवेयरलगायतका फर्मको अनुगमन गर्दै आएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले म्याद नाघेका, खान अयोग्य, बिक्री गर्न अयोग्य मालसामानहरू जफत गरी नष्टसमेत गर्दै आएको छ । सो कार्यालयले नेपालगन्जमा गत आव २०८०/८१ मा पाँच लाख ७२ हजार ९३ रुपैयाँ बराबरको मालसामान नष्ट गरेको जनाएको छ । रासस

प्रकाशित: १८ साउन २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =