संघ सरकारले प्रदेश प्रमुखको गरिमा राखेन : अमिक शेरचन

हिमाल प्रेस १५ साउन २०८१ १७:३२
206
SHARES
संघ सरकारले प्रदेश प्रमुखको गरिमा राखेन : अमिक शेरचन

लुम्बिनी- लुम्बिनी प्रदेशका पदमुक्त प्रदेश प्रमुख अमिक शेरचनले संघीय सरकारले प्रदेश प्रमुख पदको गरिमा राख्न नसकेको आरोप लगाएका छन्। केन्द्रमा राजनीतिक परिवर्तन हुँदा प्रदेश प्रमुखलाई बिना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको बताएका हुन्।

संघीय मन्त्रिपरिषद्् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेपछि मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखको सम्मान नभएको भन्दै आपत्ति जनाए। उनले केन्द्रीय सरकारले राजीनामाको मौकासमेत नदिएको बताए।

‘म त ५ गते नै राजीनामा दिन तम्तयार थिए, प्रदेश प्रमुखको संवैधानिक जिम्मेवारीले गर्दा बसेको हुँ,’ प्रमुख शेरचनले भने-‘हिजो संघीय सरकारले हटाएको समाचार सुँने, त्यसैले आज पत्रकार सम्मेलन गरेर लुम्बिनी छाड्न लागेको जानकारी गराएको हुँ।’

उनले संविधानलाई राजनीतिक दलहरुले उल्लघन गर्ने गरेकाले आफू प्रदेश प्रमुखका रुपमा नरहने घोषणा गरेर जान लागि सकेको समेत सुनाए। उनले प्रदेशलाई संघले सम्मान गर्न नसकेको बताए।

‘समीकरण फेरिएपछि संघलाई अप्ठ्यारो भए राजीनामा वा जानकारी गराए हुन्थ्यो, तर पदमुक्त गरेको भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा प्रदेश प्रमुखमाथि सम्मान हुँदैन’ उनले भने।

उनले कुनै कारणबिना नै सरकारले पदमुक्त गर्ने कुरा गलत भएको बताए। ‘अहिले मात्रै होइन, विगतदेखि नै गलत अभ्यास भइरहेको छ, संविधानको उल्लघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने’ शेरचनले भने, ‘विनाकारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ।’

उनले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्ने बताए। ‘केन्द्रमा समीकरण फेरिने कुरा एउटा हो, तर प्रदेशको आफ्नै छुट्टै अस्तित्व र परिवेश हुनसक्छ’ उनले भने। उनले प्रदेशको मन्त्रि पनि केन्द्रले टुंग्याउने परिपाटी गलत भएको बताए।

शेरचनले आफ्नो ३ वर्षे लुम्बिनी बसाइ निकै सौहार्दपूर्ण रहेको बताए। उनले उनले आफूले प्रदेश प्रमुखका रुपमा रहँदा विधेयकहरु प्रमाणीकरण गर्ने, कार्यालयलाई सुव्यवस्थित बनाउने काम गरेको दाबी गरे। ३ वर्षको अवधिमा उनले १५ वटा विधेयकहरु प्रमाणीकरण गरेको बताए।

यस्तै ९३ वटा विभिन्न सामाजिक कार्यक्रममा सहभागी भएको र प्रदेशका ९ जिल्लाको भ्रमण गरेको उनले बताए। निजामती र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण रहेको उनले बताए।

त्यस्तै शेरचनले प्रदेशलाई आर्थिक रुपमा सबल बनाउनका लागि खनिज पदार्थको पहिचान र उत्खनन गर्नुपर्ने चाहना भएपनि त्यो कुरा पुरा हुन नसकेको बताए। ‘खनिज पदार्थलाई उपयोग गर्दा रोेजगारी सृजना हुने थियो, यसमा काम गर्नुपर्छ भनेर सुरुदेखि नै भनेँ, तर यो काम हुन सकेन’ उनले भने।

उनले राजनीति सहि दिशामा हिँड्न नसकेको समेत टिप्पणी गरे। उनले संविधान संशोधन गराउने सहमती गरेका कांग्रेस एमालेले समानुपातिक व्यवस्थाले अस्थिरता ल्याएको तर्क गरेकोमा त्यो गलत भएको बताए। उनले पञ्चायतकालदेखि २०४८ को आम निर्वाचन पछिका सरकार पनि स्थिर नभएको बताए।

२०५१ सालमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा विश्वासघात भएर अन्तरघात भयो, त्यतिखेर समानुपातिक नहुँदा पनि अस्थिर रहेको बताउँदै समानुपातिक व्यवस्थाका विषयमा गम्भिर भएर सोँच्नुपर्ने उनले बताए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा नेपाली काँग्रेसका पूराना नेता कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित: १५ साउन २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + two =