जनकपुर-अयोध्या रेल सञ्चालन ‘भदौदेखि’

धैर्यकान्त दत्त १५ साउन २०८१ ७:२९
38
SHARES
जनकपुर-अयोध्या रेल सञ्चालन ‘भदौदेखि’

काठमाडौं- लामो समयको विवादपछि भारतको अयोध्यामा निर्माण भएको राम मन्दिर उद्घाटनका क्रममा जनकपुरधामका बासिन्दाको उल्लेख्य सहभागिता रह्यो। अयोध्यास्थित मन्दिरमा प्राणप्रतिष्ठा हुने भएपछि जनकपुरधामका स्थानीयवासीले स्वस्फूर्त कोसेली पठाए। जानकी मन्दिरको अगुवाइमा कोसेली लिएर ठूलो संख्यामा स्थानीयवासी अयोध्या पुगेका थिए।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र भारतको अयोध्याबीच त्रेताकालदेखि सम्बन्ध रहेको ग्रन्थहरूमा उल्लेख छ। सदीयौँदेखि रहेको यो सम्बन्धका कारण दुवै ठाउँका धार्मिक पर्यटकको आउजाउ चलिरहन्छ। राम मन्दिर उद्घाटन भइसकेपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटकको संख्यामा थप वृद्धि भएको छ।

दुवै मुलुकका पर्यटकहरूलाई आवतजावत सहज बनाउन जनकपुरधाम-अयोध्याबीच रेलसेवा सञ्चालन गर्ने तयारी थालिएको छ। भारतीय पक्षबाट भएको प्रस्तावअनुसार जनकपुरधामबाट सोझै अयोध्यासम्म पुग्ने गरी रेलसेवा सञ्चालनका लागि तयारी थालिएको हो।

जनकपुरधामदेखि अयोध्यासम्म सुरु हुन लागेको ‘विशेष’ रेलसेवाका लागि रेल भने भारतले उपलब्ध गराउनेछ। रेल सञ्चालनका ‘मोडालिटी’ का विषयमा नेपाल र भारतका अधिकारीहरूबीच चरणबद्ध छलफल भएको छ।

रेल विभागका प्रवक्ता कमलकुमार शाहले जनकपुरधाम-अयोध्या रेल सञ्चालनका लागि छलफल चलिरहे पनि टुंगो लाग्न बाँकी रहेको बताए। ‘रेल सञ्चालनको मोडालिटीका विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ,’ शाहले भने, ‘भारतबाट रेल आउने भएकाले मोडालिटी पनि उतैबाट आउने भयो। मोडालिटी आइसकेको छ। थप छलफल भएर सञ्चालनबारे निर्णय हुन्छ।’

विभागका प्रवक्ता शाहले दुवै देशबीच रेल सञ्चालनका विषयमा अर्थ, गृह, परराष्ट्र, कानुनलगायतका मन्त्रालयका साथै भारतीय पक्षसँग कुराकानी भइरहेको जानकारी दिए। यात्रुको सुरक्षा, रेलको रुटलगायतका विषय टुंगो लगाउनुपर्ने भएकाले गम्भीर रूपमा छलफल गर्नुपर्ने उनको भनाइ छ।

जनकपुरधामबाट अयोध्यासम्म रेल सञ्चालनका लागि भारतको पूर्वी सेन्ट्रल रेल्वेले रेल उपलब्ध गराउने भएको छ। पूर्वी सेन्ट्रल रेल्वेले प्रयोग गर्ने नेपाली ट्र्याकको भाडा र टिकटमा नेपाल रेल्वेलाई कमिसन दिनेछ। भारतको रामायण सर्किटमा जोडिएको जनकपुरधामसम्म अहिले तीर्थ यात्रुहरू निजी सवारीसाधन वा बस चढेर आउने गरेका छन्। निजी सवारीसाधन भएकाहरू सोझै जनकपुरधामसम्म पुग्ने गरे पनि बसका यात्रुहरू सीमासम्म पुगेर यातायातको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ।

पछिल्लो समय निजी क्षेत्रबाट जनकपुरधामदेखि अयोध्यासम्म बससेवा सञ्चालन भइरहेको छ। तीर्थालुहरूलाई आवतजावत गर्न सहज हुने भएकाले भारतीय पक्षले जनकपुरधाम-अयोध्यासम्म रेल सञ्चालनका लागि प्रस्ताव गरेको हो। यसका साथै रेल सञ्चालनका माध्यमबाट नेपालका धार्मिक पर्यटकलाई अयोध्या भित्र्याउने लक्ष्य भारतीय पक्षले लिएको छ।

जनकपुरधाम र अयोध्याबीच बढीमा साताको दुई दिन रेल सञ्चालन गर्ने तयारी दुवै पक्षको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि समयतालिका भारतीय रेल्वेलाई पठाइएको बताए। उनका अनुसार भदौदेखि रेल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। प्रारम्भमा साताको एक दिन र यात्रुको चाप बढेपछि दुई दिनसम्म रेल सञ्चालन गर्ने योजना दुवै पक्षको छ।

‘पहिलो चरणमा साताको एक दिन सेवा रहन्छ र यात्रुको चाप बढे दुई दिनसम्म सञ्चालन गर्ने योजना बनाइएको छ,’ झाले भने। जनकपुरधामबाट हरेक शनिबार दिउँसो १:३० बजे जनकपुरधामबाट छुट्ने रेल अर्को दिन बिहान ४ बजे अयोध्या पुग्नेछ। त्यही रेल सोमबार साँझ ५ बजेबाट अयोध्याबाट फर्किएर मंगलबार बिहान ७:३० बजे जनकपुरधाम पुग्ने गरी समयतालिका भारतीय रेल्वेलाई पठाइएको छ।

नेपालबाट जाने तीर्थालुले अयोध्यामा पूजाआजा दर्शनका लागि ३६ घण्टाको समय पाउने गरी समयतालिका नेपाल रेल्वे कम्पनीले मिलाएको छ। नेपाली तीर्थालुले अयोध्यामा ३६ घण्टाको समय पाउने भए पनि भारतीय यात्रुले नेपालमा ६ दिन बिताउने समय पाउनेछन्। रेलसेवाको भाडा भारतीय पक्षले निर्धारण गर्नेछ।

रेलसेवा उद्घाटनका विषयमा दुवै पक्षबीच छलफल सुरु भएको बताइएको छ। स्रोतका अनुसार दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उदघाटन गर्ने गरी छलफल अघि बढेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको सय दिन पुगेको अवसरमा रेलसेवा उदघाटन हुनसक्ने बताइएको छ। तेस्रो कार्यकालका लागि मोदीले २७ जेठमा प्रधानमन्त्री पदमा शपथ लिएका थिए। त्यस आधारमा १५ भदौसम्म अयोध्या-जनकपुर रेल सञ्चालन हुनसक्ने सम्भावना रहेको बताइएको छ।

शाह भने रेल सञ्चालनको मिति नै किटान गर्न तत्काल कठिन रहेको बताउँछन्। ‘अहिल्यै रेल सञ्चालनको मिति किटान गर्न कठिन छ, सरकारले के निर्देशन दिने हो हामीलाई थाहा भएन,’ उनी भन्छन्,‘तयारी चलिरहेको छ, चल्ने भने पक्का हो’, उनले भने। जनकपुरधामबाट अयोध्यासम्म चल्ने रेलमा एसी क्लासदेखि स्लिपर तथा जनरलसहित २० डब्बा हुने बताइएको छ। जनकपुरधामऔजयनगर रेल्वेको उदघाटन २ अप्रिल २०२२ मा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीबाट गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =