 प्रतिनिधिमूलक तस्बिर
                             प्रतिनिधिमूलक तस्बिर
                                            हुम्ला- उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठवटा विद्यालयमा २५ भन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन्। माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको हो।
नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मजोजकुमार बुढाले आफ्नो गाउँपालिकामा २५ भन्दा कम विद्यार्थी भएको विद्यालय संख्या आठवटा रहेको बताए। उक्त गाउँपालिकामा जम्मा १४ वटा विद्यालय रहेका छन्।
उनले बर्सेनि विद्यार्थी संख्या घट्दो क्रममा रहेको बताउँदै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिकै विद्यार्थीले विद्यालय छोड्दा यो अवस्था आएको बताए। यो संख्या इसिममा प्रविष्टि गरेको विवरणमा देखिए पनि वास्तवमै यो संख्या अझै घट्न सक्ने देखिएको छ।
प्रमुख बुढाका अनुसार २५ जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा वडा नम्बर १ को कक्षा एकदेखि पाँचसम्म अध्ययन हुने नबबुछोमु प्रावि रहेको र सो विद्यालयमा विद्यार्थीको संख्या २२ जना रहेको छ।
त्यसैगरी वडा नम्बर १ कै कक्षा तीनसम्म पढाइ हुने नाम्खा ख्यामेजुम प्राविमा २४ जना, वडा नम्बर १ कै कक्षा पाँचसम्म पढाइ हुने नबुबुद्ध प्राविमा पन्ध्र जना विद्यार्थी अध्ययन गर्दै आएका छन्। यता वडा नम्बर ३ को कक्षा तीनसम्म पढाइ हुने सत्य प्राविमा २५ जना विद्यार्थी रहेका छन्।
वडा नम्बर २ को कक्षा पाँचसम्म अध्ययन हुने च्याछरा प्राविमा १७ जना विद्यार्थी हाल अध्ययन गर्दै आएका छन्। वडा नम्बर ५ को कक्षा तीनसम्म अध्ययन हुने अरनिको प्राविमा सात जना रवडा नम्बर ५ को कक्षा पाँचसम्म अध्ययन हुने सुनखानी प्राविमा २२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
यता वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने हिमालय प्राविमा आठ जना मात्र विद्यार्थीले अध्ययन गर्दै आएका छन्। त्यस्तै वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने मोतीराम प्राविमा ३९ जना र कक्षा एकदेखि आठसम्म अध्ययन हुने खासरपानी आविमा ४८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमीका तीन वटा विद्यालय मध्य दुई वटा बन्द भएको र बाँकी एक वटा सुनखानी प्राथमिक विद्यालयमा पनि विद्यार्थी संख्या घटी रहेको बताए। गत वर्ष ५४ जना विद्यार्थी भएकोमा यस वर्ष सो विद्यालयमा २२ जना विद्यार्थीले अध्ययन गर्दै आएको उनकाे भनाइ छ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या घटिरहेको बताउँदै विद्यार्थी घट्दैमा विद्यालय बन्द गर्न सकिने अवस्था नरहेको बताए। जति विद्यार्थी रहेको पनि उनीहरूको लागि विद्यालयलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको उनले बताए। गोरखापत्र दैनिकबाट

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 