गिरिजाप्रसाद कोइराला
                                            काठमाडौँ- नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ। कांग्रेसले अगामी असार १८ मा फोटो प्रदर्शनी गर्ने भएको हो।
बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा फोटो प्रदर्शनी गर्न लागिएको जानकारी गराइएको हो। ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरू रहने केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
फोटो प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालीन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्वित गर्ने फोटोहरू राखिने उनले बताए। नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला लगायतका नेपाली कांग्रेसका नेताहरूले खेलेका भुमिकालाई फोटोमा उतार्ने प्रयास गरिएको उनले बताए।
उनले पार्टीको केन्द्रीय कार्यालयकै सभाहलमा हुने फोटो प्रदर्शनीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न पार्टीको अध्यक्ष तथा शीर्ष नेताहरूदेखि कूटनीतिक क्षेत्रका व्यक्तिहरूलाई पनि निमन्त्रणा गरिएको जानकारी दिए। बिहान ११ बजेदेखि सरु हुने फोटो प्रदर्शनी राति ११ बजेसम्म चल्ने उनले बताए।
फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श पनि गरिने उनले जानकारी दिए। क्रान्तिदेखि शान्तिसम्मको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने बताए।

                                             
                                             
                                             
                                             
                                             

