प्रेमीको मानसिक यातनाका कारण प्रहरी जवान करिस्माको ‘आत्महत्या’

हिमाल प्रेस ५ असार २०८१ १६:३४
4.0k
SHARES
प्रेमीको मानसिक यातनाका कारण प्रहरी जवान करिस्माको ‘आत्महत्या’

काठमाडौँ- प्रहरी जवान करिस्मा सुनारको मृत्यु प्रकरणमा जोडिएका उनका प्रेमी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान २५ वर्षीया करिस्मा गत जेठ ३१ गते शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

उनका प्रेमी बाँके बैजनाथ गाउँपालिका-२का २७ वर्षीय पुष्कर थापा मगर पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उदयभान द्विवेदीले पक्राउ परेका पुष्करमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए।

थापालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेर बुधबार अदालत पेस गरेको छ। प्रहरीले मृतक करिस्माको मोबाइलमा आदान-प्रदान भएका म्यासेजका आधारमा पुष्करलाई पक्राउ गरिएको जनाएको छ। करिस्माको मोबाइलमा थापाले मानसिक तनाव दिने खालमा म्यासेज पठाएको भेटिएको बताइएको छ।

‘प्रहरी जवान करिस्मा सुनारको स्थायी ठेगाना बाँकेको खजुरा गाउँपालिका-४ हो। उनका प्रेमी भनिएका पुष्कर पनि बाँकेकै हुन्’, प्रहरी निरीक्षक द्विवेदीले भने, ‘उनीहरूबीच लामो समयदेखि प्रेमसम्बन्ध भएको पनि खुलेको छ। घटनाबारे थप अनुसन्धानपछि खुल्दै जाला।’ प्रारम्भिक अनुसन्धानमा प्रेमीको मानसिक यातनाका कारण उनले आत्महत्याको बाटो रोज्न बाध्य भएको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०८१ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =