सांकेतिक तस्बिर।
रौतहट– बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।
घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याइएकी बालिकालाई चिकित्सकले सोमबार राति १२:२९ बजे मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालमा खटिएका प्रहरी कर्मचारीबाट जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




