काठमाडौँ- निर्धारित २० ओभरमा बराबर भएपछि सुपर ओभरमा धकेलिएको टी-२० विश्वकपको ओमान र नामिबियाबीचको खेलमा नामिबियाको जित गरेको छ।
सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर १० रन मात्र बनाउन सक्यो। सुपरओभरमा सुरुवाती बलिङ गरेका बिलाल खान खर्चिलो साबित भए।
उनले २१ रन खर्चिएका थिए। यसअघिको खेलमा ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो।
नामिबियाका लागि जान फ्रिलिंकले सर्वाधिक ४५ रन बनाए भने
निकोलस डेभिडले २४ रन जोडे। कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन मात्रै जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ ओमानका मेहरान खानले ३ तथा बिलाल खान, अकिब इलियास र आयान खानले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिएको हो। ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले ४ विकेट लिए।
डेविड विसाले ३, गेहार्ड इरास्मस २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए। ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।
जिशन मक्शुदले २० बलमा २२ रन जोड्दा आयान खानले १५ रनको योगदान गरे। अन्य ब्याटरले रन जोड्न सकेनन्।
ओपनर काश्यप प्रजापति र कप्तान अकिब इलियास शून्यमा आउट हुँदा नशीम खुशी ६, मोहम्मद नदीम ६, मेहरान खान ७ र शकील अहमद ११ र कलिमउल्लाह २ रन बनाएर आउट भए।

                                             
                                             
                                             
                                             
                                             
                                             

