मधेश प्रदेशका मुख्यमन्त्री यादवको आरोप : प्रचण्ड नै संघीयता विरोधी हुन्

हिमाल प्रेस १४ जेठ २०८१ १५:५७ | Monday, May 27, 2024
मधेश प्रदेशका मुख्यमन्त्री यादवको आरोप : प्रचण्ड नै संघीयता विरोधी हुन्

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयताविरोधी भएको आरोप लगाएका छन्। सोमबार आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरूसँग यस्तो आरोप लगाएका हुन्।

नेकपा एमाले सहितका राजनीतिक दलहरूले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेस गरेका थिए।

ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोरविरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे।

‘देशभर मधेश प्रदेशले संघीयता चाहेको हो। यो डेढ वर्षमा संघीयता चाहिन्छ भनेर बढी लड्ने म नै हो। पहिला हामी केपी ओलीलाई संघीयता बिरोधी भन्थ्यौँ। उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ,’ उनले भने, ‘ तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर विरोधी।’

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेश प्रदेशमा पटक-पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए।

प्रकाशित: १४ जेठ २०८१ १५:५७ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast