प्रेम छोटा : साहित्य र अनुसन्धान क्षेत्रका अग्ला अन्वेषक

हिमाल प्रेस ३ जेठ २०८१ १६:२६
8
SHARES
प्रेम छोटा : साहित्य र अनुसन्धान क्षेत्रका अग्ला अन्वेषक

गण्डकी- नेपाली वाङ्मय क्षेत्रका सुपरिचित नाम हाे प्रेम छोटा। उनको वास्तविक नाम प्रेमप्रसाद श्रेष्ठ हो। प्रेमले जीवनमा एउटामात्र नाटक खेले तर त्यही नाटकले दिएको नाम हाे प्रेम छोटा।

वि.सं २०१४ तिर बागलुङका कलाप्रेमी युवाहरुले नाटक ‘मनोमानी’ मञ्चन गरे। नाटकमा एकै नामका दुई पात्र थिए। एउटा हवल्दारको भूमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ, अर्का बाल पात्र प्रेमप्रसाद श्रेष्ठ। उनी बाल कलाकारकाे प्रेमप्रसाद थिए। नाटक खेल्दा उनी बाह्र वर्षका।

हवल्दार बनेका प्रेमप्रसाद अग्लो, बाल कलाकार प्रेमप्रसाद यसै होचो कदका। दुवै कलाकारलाई चरित्र निर्वाह र निर्देशनमा सजिलो होस् भनेर नाटकका निर्देशक ओमकारप्रसाद गौचनले एक जनालाई प्रेम बडा र अर्कोलाई प्रेम छोटा नाम दिए।

‘विद्यामन्दिर माविमा नाटक ‘मनोमानी’ मञ्चन भएको थियो, म बाल कलाकारको भूमिकामा थिएँ, प्रेमप्रसाद नाम गरेको दुई जना भएपछि निर्देशक ओमकारप्रसाद गौचनले मलाई प्रेम छोटा र अर्को प्रेमप्रसादलाई प्रेम बडा नाम दिनुभएको थियो’, उनले विगत सम्झिदै भने। ‘त्यही नाम नै मेरो साहित्यिक नामका रुपमा स्थापित भयो, सबैले प्रेम छोटा भनेर चिन्छन्, आखिर छोटा नै मेरा लागि प्रिय नाम भयो।’ आफ्नो नामबारे दिग्गज साहित्यकारदेखि जनसाधारणसम्मले बेलाबेला चासो राख्ने गरेको उनले सुनाए।

नाटक ‘मनोमानी’मा हवल्दार बनेका प्रेम बडा दिवङ्गत भइसके। बाल चरित्र निभाएका प्रेम छोटा अहिले पनि साहित्य साधना र संस्कृतिको अन्वेषणमा सक्रिय छन्।

 साहित्संयका अन्वेषक छाेटा

नाटक खेलेपछि २०१६ सालमा पहिलोपटक प्रेम छोटाकै नाममा ‘असम्भव के?’ कविता लेखे। त्यही कविताबाट उनको वाङ्मययात्रा आरम्भ गरे। ‘२०३० सालसम्म कथा, कविता र आत्मपरक निबन्ध लेखेँ’, ८० वर्षीय छोटाले भने ‘त्यसपछि संस्कृतिको खोज-अनुसन्धानमा लागेँ।’

उनको पहिलो खोजमूलक रचना ‘बागलुङको प्राचीनतम् लोकसंस्कृति हनुमान नाच’ हो। यो २०३५ सालमा प्रकाशित भयो। अमेरिकी दूतावासबाट निस्कने ‘स्वतन्त्र विश्व’ नामक पत्रिकामा प्रकाशित उक्त आलेख नै छोटाको शोध यात्राको कोशेढुङ्गा बन्यो।

‘त्यसबेलाको चर्चित पत्रिका थियो, रङ्गीन आउँथ्यो, त्यो पनि मनिलामा छापिएर’, उनले भने ‘जसबापत पारिश्रमिक रु. पाँच सय पाएँ, म झन् प्रेरित भएँ।’ जीवनमा पहिलोपटक पाएको लेखनबाट उनी त्यसबेला प्रकाशित हुने रुपरेखा साहित्यिक पत्रिकाको आजीवन सदस्य पनि बने।

तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाचबारे शोधपछि उनलाई लोक संस्कृतिको अनुसन्धानमा लाग्ने प्रेरणा र ऊर्जा मिल्यो। पूर्वाद्धमा साहित्यका अनेक विधामा कलम चलाएका छोटाले पछि आएर संस्कृतिको अन्वेषणतिर लागे। संस्कृतिको खोज-अनुसन्धानमा उनले पाँच दशक बिताइसकेका छन्।

‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी- २०७५’ उनको ३२औँ कृति हो। उनका लोक संस्कृतिमा आधारित कृति १२ वटा छन्। ‘कविता, कथा, सम्पादन हुँदै संस्कृतितिर मेरो झुकाव बढ्दै गयो, लामो समय मैले यसैमा व्यतित गरेँ’, छोटाले भने।

२०४२ सालमा उनको पहिलो कृति कथासङ्ग्रह ‘प्रकारान्त’ प्रकाशित भएको थियो। त्योसँगै उनका ३२ कृति प्रकाशित भए भने २५ कृति प्रकाशोन्मुख छन्। ‘३२ वटा कृति प्रकाशित भए, अझै २५ कृति प्रकाशोन्मुख अवस्थामा छन्’, उनले भने, ‘हेरौँ उमेर, स्वास्थ्यले कत्तिको साथ दिन्छ।’

‘प्रेमका केही कविता’, ‘अणु अणुको थुप्रोः जीवन र प्रेम’लगायत कृतिमा उनी सशक्त कविका रुपमा चिनिएका छन्।

उनको पहिलो अनुसन्धानमूलक कृति ‘धवलागिरिका लोक संस्कृतिहरु’ २०४४ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो। हनुमान नाच, भोटेसेलो, जोगी, लाखे, नाग नाचलगायतका लोक संस्कृतिलाई उनले कृतिमा समेटेका छन्।

संस्कृतिको ऐतिहासिक तथ्य, परम्परा, मान्यता, विकास र उत्थानका सन्दर्भ नै उनको खोजका विषय हुन्। ‘लोकसंस्कृति उजागर र जगेर्ना हुनुपर्छ भन्ने सोच आयो अनि खोजमा तल्लीन भएँ’, छोटाले भने ‘मेरो शोधको स्रोत भनेको यहीँको समाज हो ।’

‘भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त’, ‘धवलागिरि सांस्कृतिक सम्पदा’लगायत उनका थुप्रै अनुसन्धानमूलक कृति प्रकाशित छन्। नेपाल प्रज्ञा- प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान) बाट २०५३ सालमा धवलागिरिका कथा प्रकाशित भयो। ‘धवलागिरिका कवि र कविता-२०५५’, ‘भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त-२०६२’ जस्ता शोधमा आधारित कृतिहरु प्रकाशित छन्।

२०६६ सालमा प्रकाशित ‘बागलुङका ऐतिहासिक घटना’, २०७० सालमा प्रकाशित ‘धवलागिरिको छ दशकीय पत्रकारिता’ पनि उनको खोजमूलक कृति हो।

एउटै ऐतिहासिक सन्दर्भ खोज्न र प्रमाणित गर्न महिनौँ लागेको उनको अनुभव छ। सामाजिक घटना, पात्र, पाका व्यक्ति र अन्यत्रको प्रचलनबाट पनि अनुसन्धानमा सिकाइ मिल्ने गरेको छोटाले बताए।

‘संस्कृति, भाषा, साहित्य, पत्रकारितालगायत समाजका विविध पक्षको ऐतिहासिक मूल्य खोज्नु मेरो शोधको उद्देश्य हो’, उनले भने, ‘धवलागिरिको छ दशकीय पत्रकारिता’मा उनले धवलागिरि क्षेत्रबाट २०७० सालसम्म प्रकाशित अखबारको पहिलो अङ्क सङ्ग्रहित गरेका छन्।

उमेरको उकालोसँगै छोटाको लेखनको गति केही घटेको होला तर साधना र समर्पण भने उस्तै छ। २०७५ सालमा प्रकाशित ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी’ उनको पछिल्लो कृति हो। यो कृतिमा बागलुङको नाटक परम्परासँगै उक्त कृतिमा चैते दसैँ, घण्टाकर्ण पर्वलगायत केही सांस्कृतिक महत्वका पर्व र स्थलमा आधारित छ।

इतिहासको दस्तावेज राख्न र नयाँ पुस्तालाई संस्कृतिबारे सुसूचित गर्न उनका अनुसन्धानमूलक कृतिले सघाउँनेछ। उनका कृतिबाट साङ्गोपाङ्गो रुपमा धवलागिरि क्षेत्रको कला, संस्कृति र वाङ्मय बुझ्न सकिन्छ।

‘लोक संस्कृति कुनै विचारधारा र वाद प्रभावित नहुँने हुँदा मेरो रोजाइमा पर्‍याे’, उनले भने। ‘साहित्य रचनामा विचारधारा प्रकट हुने खतरा हुन्छ।’

उनले संस्कृतिलाई व्यापक रुपमा हेर्नुपर्ने धारणा राख्छन्। लोकसंस्कृतिलाई कुनैपनि देशको आत्मा र स्पन्दनका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ। ‘लोकसंस्कृति र परम्परालाई बाहिर झिकिदिने हो भने समाज निर्जीव र मूर्छित बन्छ’, छोटाले भने।

अनुसन्धानमूलक कृतिबाहेक छोटाका एक दर्जन जति मौलिक कृति छन्। कयौं पुस्तक उनको सम्पादनमा प्रकाशित भएका छन्। २००२ सालमा बागलुङ नगरपालिका-३ किनाराटोलमा जन्मेका छोटा सानै उमेरदेखि वाङ्मय सेवामा समर्पित छन्।

रत्न-श्रेष्ठ पुरस्कार गुठीका संस्थापक 

एघार वर्षको उमेरमै साथीहरुसँग मिलेर उनले बागलुङ बजारमा सरस्वती पुस्तकालयको स्थापना गरे। २०३४ सालमा उनले स्थापना गरेका ‘रत्न-श्रेष्ठ पुरस्कार गुठी’ राजधानी बाहिरको सबैभन्दा पुरानो पुरस्कार संस्था मानिन्छ।

छोटा संस्थापक/संरक्षक रहेको रत्न-श्रेष्ठ पुरस्कार गुठीले हरेक दुई वर्षमा राष्ट्रिय, क्षेत्रीय र आञ्चलिक स्तरमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ।

२०२४ सालदेखि २०४१ सालसम्म विद्यामन्दिर माध्यमिक विद्यालयको लेखापालका रुपमा सेवा गरेका छोटा त्यसयता भने पूर्णकालीन साहित्य सेवामा तल्लिन छन्।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्यसमेत रहेका छोटा डा. डिल्लीरमण कल्याणी रेग्मी स्मृति पुस्तकालय विकास समिति काठमाडौँ र धवलागिरि वाङ्मय प्रतिष्ठान काठमाडौँको अध्यक्षसमेत भइसकेका छन्।

000

विभिन्न साहित्यिक तथा प्राज्ञिक सङ्घसंस्थामा क्रियाशील छोटाले ६० भन्दा बढी पदक, सम्मान र पुरस्कार पाइसकेका छन्।

२०५३ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, २०५६ मा गोपाल पाँडे असीम पुरस्कार, २०६८ मा शिरोमणि पुरस्कार, २०६९ मा त्रिमूर्ति पुरस्कारलगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका छन्। लोककवि अलिमियाँ वाङ्मय सम्मान, भूपि स्मृति सम्मान, राष्ट्रिय नागरिक स्वर्ण सम्मान तथा नागरिक अभिनन्दन, भानुभक्त स्वर्ण सम्मान लगायतबाट उनी सम्मानित भएका छन्।

पढाइमा स्नातक पास गरेर केही वर्ष शिक्षक र कर्मचारी भएर काम गरेको अनुभव भए पनि उनको अधिकांश जीवनकाल साहित्य, कला र संस्कृतिको सेवामा बितेको छ।

साहित्य र संस्कृतिको उत्थानमा उनले पुर्‍याएको योगदानलाई समेटेर ‘प्रेम छोटाका ७० वसन्त’ र ‘प्रेम छोटाका बहुआयाम’ ग्रन्थ प्रकाशित छन्।

दिवङ्गत दीपबहादुर र रत्नकुमारी श्रेष्ठको कोखबाट जन्मेका छोटा अहिले बागलुङ नगरपालिका-३ किनारा टोलमा परिवारसँग बस्दै आएका छन्।

प्रकाशित: ३ जेठ २०८१ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast