‘प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभालाई पूर्ण समानुपातिक गरौँ’

हिमाल प्रेस ३१ वैशाख २०८१ २१:४३ | Monday, May 13, 2024
‘प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभालाई पूर्ण समानुपातिक गरौँ’

काठमाडौँ- राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ।

निर्वाचन आयोगमा आज (सोमबार) भएको भेटमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिन नसक्ने निर्वाचन प्रणाली आवश्यक नरहेको बताए।

आयोगस्थित प्रमुख आयुक्तको कार्यकक्षमा भएको छलफलमा सभापति खतिवडाले निर्वाचन प्रणालीमै संशोधन जरुरी रहेकाले सबैले आ–आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिए। अहिलेको निर्वाचन प्रणाली साह्रै महँगो भएको र यसलाई न्यूनीकरण गर्न समयमै ध्यान दिनुपर्ने उनको भनाइ थियो।

‘अहिलेको प्रणालीले कुनै निकास दिने नदेखिएकाले संविधान संशोधन गरेर भए पनि परिमार्जन गर्न जरुरी भइसकेको छ,’ सभापति खतिवडाले भने, ‘प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाऔँ, त्यसमै आरक्षण सिट तोकौँ। राष्ट्रियसभालाई पूर्ण समानुपातिक गरौँ।’

एकपटक समानुपातिक सांसद भइसकेपछि अर्को पटक सोही पद्धतिबाट हुन नपाउने व्यवस्था गर्नसमेत सभापति खतिवडाले प्रस्ताव गर्नुभयो। सभापति खतिवडाले आगामी निर्वाचन कानुनमा आफू कार्यरत रहेकै ठाउँबाट मत हाल्न पाउने गरी मतदानको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरमै मतदानको व्यवस्था मिलाउन अनुरोध गरे।

प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणाली फेर्ने विषयमा दलहरूकै तदारूकता महत्त्वपूर्ण हुने बताउँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदामा प्रस्ताव गरिएको जानकारी दिए।

निर्वाचन महँगो हुनुमा दलहरूकै कार्यशैली जिम्मेवार रहेको बताउँदै प्रमुख आयुक्त थपलियाले दलहरू स्वयम् संवेदनशील बन्नुपर्ने बताए।

प्रकाशित: ३१ वैशाख २०८१ २१:४३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast