देउवा र लामिछानेलाई सभामुखले भने : राष्ट्रपति आउने बैठक अवरोध हुनु भएन, सहमति जुटाउनू

हिमाल प्रेस ३१ वैशाख २०८१ १६:०९
8
SHARES
देउवा र लामिछानेलाई सभामुखले भने : राष्ट्रपति आउने बैठक अवरोध हुनु भएन, सहमति जुटाउनू सभामुख देवराज घिमिरे।

काठमाडौँ– नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज दिउँसो प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेका हुन्।

राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न सभामुखले अपिल समेत गरे। सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए।

उनले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू अवरोधबिना चल्ने पनि बताए।  सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन्।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखेका छन्। जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिए।

सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षसँग छलफल पनि गरेका थिए। उनले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने कार्यक्रम तय भएको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम जोडिएको दाबीसहित कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। कांग्रेसले लामिछानेलाई संसद्‌मा बोल्न पनि दिएको छैन। लामिछाने भने यस प्रकरणमा आफ्नो कुनै दोष नरहेको र आफूले संसद्‌मा बोल्न पाउनुपर्ने बताउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast