 
                             
                                            काठमाडौँ- निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ले प्रदर्शनको ५१औं दिन पुरा गरेको छ। गत वर्षको चैत ९ देखि प्रदर्शनरत फिल्मले शनिबार काठमाडौँ र मोफसलका केही हलमा ५१औं दिन मनाएको हो।
शनिबार दिउँसो सुन्धारास्थित क्यूएफएक्स हलमा फिल्म ५१औं दिनको सेलिब्रेसन कार्यक्रम राखिएको थियो। फिल्मले नेपालमा १६ करोड ग्रस कलेक्सन गरेकाे निर्माण टिमको दाबी छ।

उपत्यकाको क्यूएफएक्स सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाज्, आइएनआइ सिनेमाज्, वान सिनेमाज्, बीएसआर मुभिज्, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिके सिनेमाज् र मोफसलतर्फ नेपालगञ्जस्थित सिने रोयलमा ५१औं दिन मनाएको छ।
यसअघि ‘जात्रा’का अघिल्ला दुई श्रृंखलाले पनि ५१औं दिने मनाएका थिए। उनको ‘जात्रा’का तीन श्रृंखलासँगै ‘शत्रु गते’ र ‘महापुरुष’ले पनि ५१औं दिन मनाएको थियो। यो सँगै प्रदीप भट्टराई विगत एक दशकमा नेपालमा सबैभन्दा बढी ५१औं दिन मनाउने फिल्म दिने निर्देशक बनेका छन्।
प्रदीप भट्टराईकै लेखन रहेको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दिव्य देव, गौमाया गुरुङ, सुमन कार्की लगायतको अभिनय छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 