बाँकेमा तातो हावाबाट जोगाउन घरदैलो अभियान

हिमाल प्रेस २२ वैशाख २०८१ १६:००
4
SHARES
बाँकेमा तातो हावाबाट जोगाउन घरदैलो अभियान

बाँके- नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’ बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ। अत्यधिक गर्मी र तातो हावा ‘लु’ को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो।

स्वयम्सेवकहरूले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंहले बताए। उनका अनुसार स्वयंसेवकले घरघरमा पुगेर सचेतना फैलाउने काम गरिरहेका छन्।

‘उनीहरूले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामूलक पर्चापम्प्लेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन्। घरदैलोका क्रममा उनीहरूले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्नेलगायत विषयमा जानकारी दिइरहेको छन्’, उनले भने।

टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएकालगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।

उनका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ। केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। दिउँसोको समयमा मानिसको चलहपहल घटेको छ। गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्या समेत बढेको भेरी अस्पतालले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast