संस्कार शिक्षाका लागि डा. स्वामी केशवानन्दको ‘गोफन्ड’ अभियान

हिमाल प्रेस २१ वैशाख २०८१ २०:५३
380
SHARES
संस्कार शिक्षाका लागि डा. स्वामी केशवानन्दको ‘गोफन्ड’ अभियान

काठमाडौँ– डा. स्वामी केशवानन्दले नयाँ पुस्तालाई सनातन (हिन्दु, बौद्ध, किरात आदि) संस्कृतिप्रति सचेत हुनका लागि पुस्तक तयार पारेका छन्। सनातन यात्रामा मद्दत गर्न पुस्तक तयार गरिएको डा. स्वामी केशवानन्दले जानकारी दिए। उनले भनेका छन्, ‘पुस्तकले हाम्रा पूर्वजहरूका बारेमा र सनातन संस्कृतिको महत्त्वलाई परिचित गराउँछ। धनहीन हुँदा समस्या नहुने तर चरित्रहीन हुँदा पछि चरित्र कमाउन नसकिने भएकाले भावी पुस्ताका लागि चरित्र निर्माणका निम्ति यो पुस्तकको आवश्यकता छ।’ पुस्तक प्रकाशन र वितरणका लागि उनले सहयोगी दाताहरूको खोजी गर्न अभियान सुरु गरेका हुन्।

पुस्तकमा देवनागरी लिपिको अक्षरारम्भदेखि बालबालिकालाई संस्कार सिकाउने गरी पाठ राखिएको छ। बालबालिकालाई पढ्नमा रुचि जगाउन ‘आफ्नो नाममा आउने अक्षरमा रङ भर’ जस्ता अभ्यास पनि राखेर पढ्न आकर्षित गरिएको डा. स्वामी केशवानन्दले जानकारी दिए। उनका अनुसार पुस्तकमा आधुनिक बालबालिकाले ह्रस्व, दीर्घ र प्लुत भनेको नबुझ्ने अवस्था आउन थालेकाले त्यससम्बन्धी पाठ समावेश गरिएका छन्।

विभिन्न देवीदेवताको ध्यान, स्तुति एवं वन्दना पनि पुस्तकमा समावेश गरिएका छन्। ‘पुस्तकमा नैतिक आचरण र आफ्ना सामाजिक मूल्यमान्यतालाई सहज र सरल तरिकाले प्रस्तुत गरिएको छ। सनातनीहरूको मौलिक पर्व, जात्रा एवं मेलाहरूलाई चित्रात्मक रूपमा प्रस्तुत गरिएको छ’, स्वामीले भनेका छन्। हरेक अध्यायमा नीतिपरक कथा समावेश गरिएका छन्।

विभिन्न साना शीर्षक दिएर आकर्षक र चित्रात्मक शैलीमा विभिन्न विषयको पाठ समावेश गरिएको उक्त संस्कारमूलक पुस्तकमा दैनिक जीवनमा प्रयोग गरिने कुश, जल, पञ्चामृत आदि विषयको महत्त्व पनि समाविष्ट छन्। सांस्कृतिक रूपमा रहेका बाजा, पञ्चपात्र, धूपधूपौरो, मूर्ति आदिका विषयमा चर्चा गरिएको छ। त्यसैगरी सूर्य, अयन, बार, नक्षत्र, राशि आदि ज्योतिष एवं गणितीय विषयमा पनि बालबालिकाका लागि उपयोगी पाठ समावेश गरिएको डा. स्वामी केशवानन्दको भनाइ छ।

स्वामीले भनेका छन्, ‘मेरो मुख्य उद्देश्य संसारभरका सनातनी बालबालिकालाई हाम्रा संस्कार, दिनचर्या र चलनहरूको महत्त्वबारे सिकाउन सक्षम हुनु हो। हाम्रो संस्कार आधुनिक संस्कृतिले प्रभावित हुँदै गएको छ। त्यसैले हाम्रो मौलिकता संरक्षणका लागि यो पुस्तक सकेसम्म धेरै मानिसलाई वितरण गर्ने लक्ष्य लिएको छु।’

पुस्तकमा बालबालिकामा सनातन संस्कृतिप्रति रुचि उत्पन्न गरी जिज्ञासा समाधानका लागि रंगीन पृष्ठ समावेश गरिएका छन्। साथै पठनक्रियालाई सशक्त बनाउन केही अभ्यास पनि समावेश गरिएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘मेरो लक्ष्य सफल पार्न म यहाँहरूलाई उदारतापूर्वक यथाशक्ति दान गर्न अनुरोध गर्दछु। यस पुस्तकलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उपलब्ध गराउनका लागि ठूलो परिमाणमा प्रकाशन गर्ने मेरो योजना छ। म यो पुस्तक किन्न र सिक्न इच्छुक सबैका लागि न्यूनतम मूल्यमा उपलब्ध गराउन चाहन्छु।’

उनको लक्ष्य १०,००० प्रति पुस्तक प्रकाशन गर्ने रहेको छ। योजना, लेखन, डिजाइन र मुद्रणका लागि अनुमानित लागत नेपाली २० लाख लाग्ने भएको छ। इच्छुक व्यक्ति वा संघसंस्थाले गोफन्डमार्फत सहयोग रकम प्रदान गर्न सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast