समाजको चरित्र ‘खजुरे ब्रो’

हिमाल प्रेस २१ वैशाख २०८१ ११:२४
10
SHARES
समाजको चरित्र ‘खजुरे ब्रो’

पोखरा- ‘फिल्म ‘खजुरे ब्रो’ ले हाम्रो समाजमा विभिन्न पात्रको कथा कमेडी जनरामा प्रस्तुत गर्न खोजेको छ। फिल्ममा अहिलेको जल्दोबल्दो सहकारी ठगीको स्टोरी छ। धनीगरिब होस् वा बाबुछोरा गरी यस्तै धेरै थरिका पात्रको कथा बोलेको छ।’ २८ वैशाखमा प्रदर्शन हुने फिल्म प्रचारका लागि निस्केको फिल्म युनिटसँग पोखरामा पत्रकार भेटघाटमा मुख्य कलाकार रेयर राईले उक्त कुरा बताएका हुन्।

सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो। धरानको चर्चित पात्र खजुरे ब्रो र उनकै क्यारेक्टरको यो फिल्मको कथा सुरज आफैंले लेखेका हुन्।

कलाकार रेयरले धरानका एउटा एकदमै रमाइलो र चर्चित पात्र खजुरेको चरित्र आफूले निर्वाह गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। सोलुखुम्बुवासी रेयरको यो १३ औं फिल्म हो। २९ दिनमै फिल्म सुटिङ सकेको स्मरण गर्दै उनले सुटिङ निकै रमाइलो भएको अनुभव सुनाए। टाइटर क्यारेक्टरमा आफूले सकेसम्म न्याय गर्न सकेको उनको दाबी छ।

निर्माता एवं कलाकार नवीन मानन्धरले फिल्मले समाजका हरेक मानिसको कथा बोल्ने भएकोले दर्शकले रुचाउने बताउँछन् । उनका अनुसार धरान, दार्जिलिङ, काठमाडौँ र इटहरीमा छायांकन भएको यो फिल्ममा डेढ करोड खर्च भइसकेको छ।

कलाकार महेश त्रिपाठीले फिल्मले मनोरञ्जनलाई केन्द्रमा राखेको बताए। ‘अहिले बनिरहेका फिल्मभन्दा यसले प्रस्तुत गरेको कथा भिन्न छ,’ पोखरेली नायक त्रिपाठीले भने, ‘यसको मेकिङ प्याटर्न पनि फरक छ। समाजका अहिलेका सहकारी प्रकरणदेखि लिएर समाजका जल्दोबल्दो इस्सु सबै उठाएको छ, तर रमाइलो ढंगले।’

कलाकार पुष्कर कार्कीले फिल्मका हरेक पात्रले मनोविज्ञान बोल्न खोज्ने बताए। उनले भने, ‘समाजमा दबएिका कतिपय कुरा देखाउन खोजिएको छ। तर सबै चरित्रहरु एकापसमा रिलेट छन्।’ उनले आफ्नो चरित्र के हो भन्ने चाहिँ खुलाउन नमिल्ने भन्दै सस्पेन्स राख्न चाहे। उनका अनुसार महेश कविको भूमिकामा छन्। कविले जति पनि शब्द लेखेका छन्, सायद उनको घरको चुलो बोल्छ वा बोल्दैन? फिल्मले भन्ने बताए।

त्यस्तै, निर्माता नवीन मानन्धरले शैक्षिक योग्यता प्राप्त गरिसकेपछि उसको बौद्धिक क्षमता कति छ, सामाजिक असर कति परेको छ भन्ने फिल्मले रमाइलो ढंगले भन्ने बताए। कलाकार कार्कीका अनुसार निर्देशक सुनुवारले धेरै जसो पात्र सडकबाटै उठाएका हुन्। यसअघि ‘षडङ्ग’ निर्देशन गरेका सुनुवार ८ वर्षपछि ‘खजुरे ब्रो’ बाट कमब्याक भएका हुन्। पहिलो फिल्म भने त्यति चलेन।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा निर्देशक समाज नेपालका अध्यक्ष जनकदीप पराजुलीसमेत उपस्थित थिए। उनले फिल्मको सफलताको कामना गर्दै नेपालका १ सय ५० हलका २० हजार सिट भरिन सके फिल्म सफल मानिने बताए।

फिल्मका मिडिया संयोजक एवं चलचित्र पत्रकार संघ नेपाल महासचिव रघुनाथ सापकोटाले आ–आफ्नो मिडियाबाट फिल्म प्रचारका लागि आग्रह गरे। उनले संघको कास्की शाखा निकै सक्रिय रहेकोले यहाँबाट पनि केन्द्रले सिक्नुपर्ने बताए।

‘खजुरे ब्रो’ मा प्रकाश भुजेल, विनतिा थापामगर, सुष्मा निरौला, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीपचन्द्र राईलगायत कलाकारको पनि अभिनय छ।

डायमण्ड उप्रेती कार्यकारी निर्माता हुने भने फिल्ममा अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता छन्। शिशिर बिसुंखेले खिचेको फिल्म मित्र डि गुरूङले सम्पादन गरेका हुन्। लाहुरेको सहर धरानका चर्चित पात्र खजुरे ब्रोको भने निधन भइसकेको छ।

प्रदीप भट्टराई निर्देशित ‘महाजात्रा’ ले हलमा दर्शकको ओइरो लगाउँदा कमेडी जनराकै ‘खजुरे ब्रो’ कत्तिको दर्शक बटुल्न सक्ने हो प्रतीक्षाको विषय छ।

प्रकाशित: २१ वैशाख २०८१ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =