विश्व श्रमिक दिवस :

आफू छाप्रोमा बसेर महल ठड्याउनेहरू

हिमाल प्रेस १९ वैशाख २०८१ १४:३६
14
SHARES
आफू छाप्रोमा बसेर महल ठड्याउनेहरू

महेन्द्रनगर (कञ्चनपुर)- कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ। आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सकेनन्।

घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले दशकपछि मिस्त्री काम गरेर घर बनाउन जाने तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सकेका छैनन्। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगरस्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिएका छन्।

एक दशकदेखि घर बनाउने काममा लागेका उनले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाए। ‘ज्याला मजदुरीका क्रममा अरूका पाँचतले महलसम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन’, उनले भने, ‘मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखौँला भनेर सोचेको अझै पूरा हुने छाँट छैन।’

रुविसँगै उनका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय छन्। दुईजनाको कमाइले घर खर्च मुस्किलले टर्ने गरेको उनको भनाइ छ। ‘मिस्त्रीको दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ,’ उनले भने, ‘लेबरीमा खटिनेको त झन् रु पाँच सय ७५ मात्रै छ।’ बुबा/आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताए।

‘ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ’, उनले भने, ‘तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौं भइसक्यो।’ कञ्चनपुरको महेन्द्रनगरमा एक वर्षअघि मात्रै मिस्त्री कामका लागि आएका उहाँले यहाँ कामको भने अभाव नरहेको बताए। ‘यहाँ बास बस्ने डेरा पनि लिएको छैनौँ,’ उनले भने, ‘जहाँ घर बनाउन सुरु गर्‍यौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ।’

त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिए ‘मजदुर दिवस भनेको के हो थाहा नै छैन्’, उनले भने, ‘दिवस मनाएर बसे बेलुकी के खाने ?’ उनले दिवस मनाउनुभन्दा पनि मजदुरहरूको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए।

‘यत्रो महँगीको जमानामा रु पाँच सय दिनको ज्यालाले के हुन्छ र ?’, एसइईसम्मको अध्ययन गरेका दीपकले भने, ‘पुस्तौँदेखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन।’ उनले समयक्रमअनुसार मजदुरहरूको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्ने बताए।

‘पाँच सय ज्यालाले खर्च त चल्दैन् तर पनि बाध्यताले जेनतेन चलाउनु त परिहाल्यो’, उनले भने, ‘मुलुकको समृद्धिमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि हामीहरूको अवस्थामा सुधार आउन सकेन।’ त्यसैगरी घर बनाउने कामको ठेक्का लिने ठेकेदारको सम्पर्कमा रहेर महेन्द्रनगरमा विगतदेखि मिस्त्री काम गर्दै आएका कैलारीकै शिवकुमार चौधरीको पनि छाक टार्न नै चर्को घाम नभनी काममा सक्रिय छन्।

‘घरमा भएको १० कट्ठा जमिनले खानसम्म पुग्छ,’ उनले भने, ‘त्यो बाहेकको सबै खर्च मजदुरीबाटै चलाएको छु।’ धनगढी हुँदै कामको शिलशिलामा महेन्द्रनगर पुगेका उनले पनि यहाँ दर्जनौँ घर निर्माण गरिसकेका छन्। ‘हामी त अरूका पक्की घर बनाउँदै जिन्दगीको महत्वपूर्ण समय बिताउने भयौँ,’ उनले भने, ‘कमाएर परिवारसहित पक्की घरमा कहिले बस्न पाइने हो, त्यो सपना जस्तै छ।’

मजदुरीबाट घर बनाउने काममा लागेका शिवकुमारले पनि दातृ निकायबाट तीनमहिने तालिम लिएर मिस्त्री काममा लागेको बताए। त्यसैगरी, बर्दिया राजापुरका रामबहादुर चौधरीले महेन्द्रनगरमा काम गर्न थालेको नौ वर्ष भयो। सुरुआतमा घर बनाउने काममा मजदुरीबाट सुरु गरेका चौधरीले मिस्त्री, सटरिङको काम हुँदै अहिले घर बनाउने ठेक्का लिन थालेका छन्।

‘मजदुरीबाट सुरु गरेको अहिले अघि बढ्दै जाँदा १२ जना काम गर्ने मसितै छन्,’ उनले भने, ‘मिस्त्री काम गर्दा बिहान साँझ अटो चलाउने र दिउँसो घर बनाउने काम पनि गरेँ।” उहाँले हाल सो कामबाट मासिक रु ४० देखि ४५ हजार कमाउने गरेको बताए। ‘यही कमाईबाट भीमदत्त नगरपालिका–२ महुलियामा १५ धुर जग्गा किनेर घर पनि बनाएँ,’ उनले भने, ‘गाउँ बर्दिया राजापुरमा भने अझै कच्ची घरमै छौँ।’ उनले मिस्त्री हुँदादेखि घर बनाउने ठेक्का लिने अवस्थासम्म आइपुग्दा यहाँ ४०/५० को हाराहारीमा पक्की घर बनाइसकेको बताए। रासस

प्रकाशित: १९ वैशाख २०८१ १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast