सुहाङको धन्यावाद सभामा ओलीले भने : बाघको छोरा बाघ नभएर स्याल हुन्छ त?

हिमाल प्रेस १८ वैशाख २०८१ १७:२० | Tuesday, April 30, 2024
सुहाङको धन्यावाद सभामा ओलीले भने : बाघको छोरा बाघ नभएर स्याल हुन्छ त? केपी ओली इलामको धन्यावाद भन्न आयोजना गरिएको सभालाई सम्बोधन गर्दै।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. सुवास नेम्वाङ जनताका लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरेका छन्।

मंगलबार इलामको सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै ओलीले ‘राजाको छोरा राजा’ भने सुहाङप्रति प्रहार भएको भन्दै सो आरोपको खण्डन गरे।

‘हरेक प्रश्नको जवाफ यहाँका नेताहरूले व्यवहारबाटै दिनुभएको छ। एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा भनियो,’ ओलीले भने, ‘कमरेड सुवास नेम्वाङलाई राजा बनाएर राजाको छोरो राजा बन्न लागेको भनियो। उहाँ त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्धा हुनुहुन्थ्यो। योद्धाको छोरा योद्धा नभएर, बाघको छोरा बाघ नभएर स्याल हुन्छ त?’

उनले बलियो र सुदृढ राष्ट्रिय शक्ति चाहिएको भन्दै विदेशीको अघि उभिएर स्वाभिमान देखाउन सक्नुपर्ने बताए। ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाए। उनले जात र थरलाई पहिचान बनाउन नहुनेमा जोड दिए।

‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं। त्यही पहिचान हो। धनी भए धनी नेपाली। गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली। पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली। कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल हुन सक्दैन,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान। नेपाली जनता सुखी हुनुपर्छ। प्रदेशको नाम पहिचानको कुरा होइन। पहिचान भनेको नामको कुरा होइन। जाति विशेषको, थर विशेषको कुरा होइन। पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए। तसर्थ यो धेरै ठूलो कुरा होइन। यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन। साझा नाम राख्दा केही बिग्रिँदैन। हामी सयौं थुंगा फुलका एउटै माला हौं। इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान।’

प्रकाशित: १८ वैशाख २०८१ १७:२० | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast