बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

हिमाल प्रेस ८ वैशाख २०८१ ११:०० | Saturday, April 20, 2024
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ- सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ।

कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज यहाँ आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो लोकार्पण समारोह’ मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत संघसंस्थालाई उक्त ऐतिहासिकस्थलको अध्ययन– अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको हो।

त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तर रूपमा आयोजना गर्न आग्रह गरे।

साहित्यकार प्रा शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन र जगत्का भोगाइ सटिक रूपमा भित्तेपात्रामा समेटिएको बताए। साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान् विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तरराष्ट्रिय जगत्मा परिचित गराउनुपर्ने बताए।

कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रिय रूपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरे।

कसासका उपाध्यक्ष डा केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य र सदस्य होमशंकर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशित ‘कसास कविता क्यालेन्डर–२०८१’ मा गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु र साइनो गरी सानाछोटा ६८ रचना छन्।

संस्थाले हालसम्म ‘कपन दर्पण’ का ‘स्मारिका –२०५८’, ‘कविता विशेषांक –२०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अंक–२०७२’ र ‘कविता विशेषांक –२०६२’ प्रकाशन गरिसकेको छ।

कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान छ।

प्रकाशित: ८ वैशाख २०८१ ११:०० | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast