नुवाकोटको बेलकोटगढी नगरपालिका ११, तिगाउँस्थित कँडेल कृषि फर्म प्रालिमा रहेका मुर्रा जातका भैँसी । तस्बिर : प्रकाश सिलवाल/ रासस
                                            पोखरा- गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरूबाट वीर्य (सिमेन) संकलन थालिएको छ।
नेपाली भैँसीको नस्ल सुधारका लागि ल्याइएका मुर्राहरू यहाँको भूगोलमा अनुकूलन गर्दै हुर्किएका हुन्।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा ल्याइएका सात राँगामध्ये तीन वटाबाट सिमेन संकलन सुरु भइसकेको छ। बाँकी चार वटा राँगासमेत सिमेन संकलनअघि आवश्यक पर्ने तालिममा रहेको कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिए।
‘भारतबाट ल्याइएका सबै मुर्राको अवस्था राम्रो छ । तीन वटाबाट सिमेन जम्मा गर्न थालिसकेका छौँ, चार वटा तालिममा छन्,’ उनी भन्छन्, ‘तालिममा रहेकाहरूबाट पनि वैशाख पहिलो वा दोस्रो साताबाट सिमेन संकलन सुरु हुने अपेक्षा छ। चाँडैमा जेठ पहिलो साता र ढिलोमा साउनबाट सिमेन वितरण थाल्छौँ।’
पोखरामा एक हजार डोजभन्दा बढी सिमेन संकलन भइसकेको छ। संकलन गरिएको सिमेन माइनस एक सय ९६ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राख्नुपर्छ।
देशैभरिका भेटेरिनरी कार्यालयमार्फत भैँसीको नस्ल सुधारका लागि मुर्राको सिमेन वितरण गर्ने तयारी छ।
भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये तीन वटा लहान र पाँच नेपालगन्जमा छन्। राष्ट्रिय पशु प्रजनन केन्द्र नेपालगन्जमा रहेका दुई मुर्राबाट सिमेन संकलन सुरु भइसकेको छ भने बाँकी अर्को तालिममा छन्।
केन्द्र प्रमुख डा खगेन्द्रराज सापकोटाले चैतबाट सिमेन जम्मा गर्न थालिएको जनाउँदै पाँच सय डोज जम्मा भइसकेको जानकारी दिए। राष्ट्रिय पशु प्रजनन केन्द्र लहानमा रहेका तीन वटै राँगा अहिले तालिममा छन्।
पोखरामा हप्तामा दुई पटक सोमबार र बिहीबार सिमेन जम्मा गर्ने गरिएको छ। यहाँ अहिले भारतबाट ल्याइएका सातसहित १८ मुर्रा राँगाबाट सिमेन संकलन भइरहेको राँगा साँढे व्यवस्थापन साखाका पशु प्राविधिक भोजबहादुर थापाले बताए।
सामान्यतया अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्ने पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा पाण्डे बताउँछन्। एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज सिमेन उत्पादन हुन्छ।
यी राँगाको सिमेनबाट कृत्रिम गर्भाधान र प्राकृतिक तवरले पनि नस्ल सुधार गरी दूध उत्पादन बढाउने योजना छ।
मुर्रा धेरै दूध दिने जातको भैँसी हो। नेपाली रैथाने भैँसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारी दूध दिन्छन्। मुर्रा भैँसीले भने एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिने कार्यालय प्रमुख डा पाण्डे बताउँछन्।

                                             
                                             

