काठमाडौँ- लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई बिहीबार बिदाइ गरिएको छ। शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन्।
नवौं धारा नेपालगन्ज म्याराथनका विजेताका बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए। नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो।
विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन्। यसअघि उनले बर्लिन म्याराथनमा पनि उनले भाग लिइसकेका छन् ।
गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन्। उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन्।
यसैबीच नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको बिदाइ कार्यक्रममा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले तयारीका लागि १ लाख रुपैयाँ पार्कीलाई दिने घोषणा गरेका छन्।