‘डिग्री माइला’ले पायो देशभर एक सय ५५ सो

हिमाल प्रेस २८ चैत २०८० १७:१५ | Wednesday, April 10, 2024
‘डिग्री माइला’ले पायो देशभर एक सय ५५ सो

काठमाडौँ- यसवर्षको अन्तिम दिन अर्थात् चैत ३० देखि प्रदर्शन हुने फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ को अग्रिम टिकट बुकिङ खुलाइएको छ।

वर्षकै प्रतिक्षित मानिएको फिल्मले हालसम्म देशभर कुल १ सय ५५ शो पाइसकेको निर्माण टिमले जनाएको छ। नेपालकै सबैभन्दा ठुलो क्यूएफएक्स सिनेमाजले फिल्मलाई ५८ सो दिएको छ। त्यसबाहेक बुधबार देशैभर ९७ सो पाएको छ। भोलिसम्म यो संख्या अझ बढ्ने निर्माण टिमको अनुमान छ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि कलाकार दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ। वर्षको सुरुवातमा ‘जारी’ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ले पनि सुखद् अन्त्य दिने संकेत देखाएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्मको ट्रेलरमा थर्ड डिभिजनमा डिग्री (मास्टर) पास गरेका एक व्यक्तिले शिक्षक बन्न गरेको संघर्षमा आधारित छ। फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए। शाहीका अनुसार सिनेमाले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढिको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए।

यसअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको पहिलो शनिबार ३ करोड भन्दा माथिको व्यापार गरेको बताउँदै फिल्मको हाइप अनुसार यो आँकडा अनुमान गरिएको उनले बताए।

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको फिल्मको ट्यागलाइन चर्चित नेपाली उखान ‘किन चाउरियो मरिच, आफ्नै रागले’ भन्ने राखिएको छ। निमेष श्रेष्ठले सम्पादन गरेको फिल्म शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका छन्। फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ हुन्।

फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटक २०६९ साल फागुनमा पहिलोपटक मञ्चन गरिएको थियो। नाटकका लेखक सायद अशोक हुन्। नाटक दयाहाङले नै निर्देशन गरेका थिए।

प्रकाशित: २८ चैत २०८० १७:१५ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast