बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २८ चैत २०८० १२:५९ | Wednesday, April 10, 2024
बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको स्रोत खुल्न आएको कुल आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। थापा लगातार दुई कार्यकालका लागि माओवादीबाट निर्वाचित नगर प्रमुख हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ। सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

प्रकाशित: २८ चैत २०८० १२:५९ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast