ल्यान्डफिल साइटको आगोले डेढ करोड बराबरको क्षति, जनजीवन कष्टकर

विजय नेपाल २८ चैत २०८० ८:४७ | Wednesday, April 10, 2024
ल्यान्डफिल साइटको आगोले डेढ करोड बराबरको क्षति, जनजीवन कष्टकर पोखरा महानगरपालिका वडा ३२, लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटमा लागेको आगो। तस्बिर : हिमाल प्रेस

पोखरा- पोखरा महानगरपालिका वडा ३२, लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटमा लागेको आगो पूर्ण रूपमा नियन्त्रण आइसकेको छैन। फोहोरको थुप्रोमा भित्रभित्रै लागेको आगोसँगै दुर्गन्धले स्थानीयको जनजीवन कष्टकर बनेको छ।

पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको उक्त अस्थायी ल्यान्डफिल साइटमा सोमबार दिउँसो ४ बजेदेखि आगलागी सुरु भएको थियो। आगो नियन्त्रणका लागि पोखरा महानगरपालिकाको दुईवटा दमकल पुगेको भए तापनि आगलागी भएको ठाउँमा खोचसँगै बाटोको अभावले निभाउन कठिनाइ भएको थियो। दमकल मंगलबार दिउँसो ४ बजेपछि फर्किएका छन्।

आगलागीले नजिकैको च्याउ फार्ममा डेढ करोड बराबरको क्षति भएको जनाइएको छ। च्याउ, टहरा र च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री आगलागीले जलेर नष्ट भएको च्याउ खेती सञ्चालक मनोरञ्जन पौडेलले बताए। २०६८ सालदेखि करिब १० रोपनीमा सुरु गरिएको च्याउखेतीसहित घरटहरा जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको पौडेलले बताए।

ल्यान्डफिल साइडमा फालिएका प्लास्टिकजन्य सामग्रीमा आगो लागेका वरपरको वातावरण दूषित बनेको छ। दुर्गन्धले स्थानीय आत्तिएका छन्। पृथ्वी राजमार्गको पोखरादेखि तनहुँको कोत्रेसम्मको १८ किलोमिटर सडक खण्ड विस्तारको कामले गर्दा धुलोले सास्ती खेप्दै आएका स्थानीय यो आगलागीले थप संकटमा परेका छन्।

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामीमा बढी प्रभावित हुने भएकोले सचेत रहन चिकित्सकले सुझाव दिएका छन्।

आगो नियन्त्रणमा स्थानीयसहित वडा प्रहरी कार्यालय पावरहाउस, डाँडाको नाक प्रहरी चौकी, सशस्त्र प्रहरी बल खटिएका थिए। आगलागीको कारण खुल्न सकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकै रहेको ल्यान्डफिल पूरेपछि लामेआहालस्थित सेती नदी किनारमा अस्थायी रूपमा बजारको फोहोर व्यवस्थापन हुँदै आएको छ। सो स्थानमा फोहोर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभाबी फोहोर फालेको, प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको र फोहोर विसर्जन व्यवस्थित हुन नसकेको भन्दै स्थानीयले यसअघि फोहोर लैजान अवरोध गरेका थिए।

पोखरा महानगरले वडा ३३, पुँडीटारमा ८५० रोपनीमा ल्यान्डफिल साइट बनाउने योजना अघि सारे पनि काम अघि बढ्न सकेको छैन।

प्रकाशित: २८ चैत २०८० ८:४७ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast