गण्डकीमा एसईई : कास्कीमा १० हजार १७४ र मनाङमा ४० परीक्षार्थी

विजय नेपाल १४ चैत २०८० १७:३६ | Wednesday, March 27, 2024
गण्डकीमा एसईई : कास्कीमा १० हजार १७४ र मनाङमा ४० परीक्षार्थी

पोखरा– गण्डकीका ११ जिल्लामा गरी ४० हजार ९ सय १८ परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै छन्। प्रदेश शिक्षा विकास निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा कुल २ सय १४ परीक्षा केन्द्र कायम गरिएको छ। परीक्षा बिहीबार देशभर एकैसाथ हुँदैछ।

प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी १ हजार ३ सय ३२ विद्यालय परीक्षामा सहभागी हुन लागेको निर्देशनालयका अधिकृत खेमराज पौडेलले बताए। परीक्षार्थीमध्ये ३९ हजार ४२ जना नियमिततर्फका हुन्।

प्राविधिक धारतर्फका १ हजार ३ सय ९० र ग्रेडवृद्धितर्फका ४ सय ८६ विद्यार्थी छन्। कुल २ सय १४ केन्द्राध्यक्ष, ३ सय ७२ सहायक केन्द्राध्यक्ष र २ हजार १ सय ४४ निरीक्षक, ५ सय १८ परीक्षा सहायक, ९ सय २३ कार्यालय सहयोगी र ३ हजार २ सय १० सुरक्षाकर्मी खटिएका छन्।

सबैभन्दा बढी कास्कीबाट १० हजार १ सय ७४ जना परीक्षार्थी सहभागी हुँदैछन् भने मनाङबाट ४० जनाले परीक्षा दिँदै छन्। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

कास्कीमा यसपालि ३५ परीक्षा केन्द्र कायम गरिएको छ। शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यका अनुसार कुल परीक्षार्थीमध्ये ५ हजार ३ सय २ छात्र र ४ हजार ८ सय ७२ छात्रा हुन्। छात्राको तुलनामा ४ सय ३० जना छात्र बढी छन्।

गत वर्ष ३४ परीक्षा केन्द्र तय भएकोमा यसपालि पोखरा–१७, महतगौडास्थित जानकी मावि परीक्षा केन्द्र थप भएको हो। परीक्षा केन्द्र बढे पनि परीक्षार्थी गत वर्षभन्दा १५ जना कम छन्। जिल्लाबाट गत वर्ष १० हजार १८९ जनाले परीक्षा दिएका थिए।

कास्कीमा सामुदायिक र संस्थागत गरी २ सय ८७ विद्यालयका विद्यार्थीले परीक्षा दिन लागेका छन्। तिनमा सामुदायिक १ सय २२ र संस्थागत १ सय ६५ विद्यालय छन्। सामुदायिकतर्फ नै ७ वटा गुरुकुल र एउटा संस्कृत विद्यालय छन्।

संस्थागततर्फ ५ हजार ९ सय ७ विद्यार्थी तथा सामुदायिकतर्फ ४ सय २ सय ६७ जना छन्। प्राविधिक धारमा ६ विद्यालयका २ सय १५ जना परीक्षार्थी छन्। ६५ जनाले ग्रेडवृद्धि परीक्षाको लागि फाराम भरेका छन्।

हरेक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र गरी कम्तीमा ४ जना सुरक्षाकर्मी हुनेछन्। हरेक केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा मर्यादित, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अभिमुखीकरण गरिसकिएको आचार्यले बताए।

कास्कीका ५ पालिकामध्ये पोखरा महानगरमा मात्रै ३३ वटा परीक्षा केन्द्र तोकिएको छ। अन्नपूर्ण र रूपामा एकएकवटा केन्द्र छन्। मादी र माछापुच्छे«मा परीक्षा केन्द्र तय नहुँदा त्यहाँका विद्यार्थी पोखरा आएका छन्।

पोखराको भद्रकाली मावि केन्द्रबाट सबैभन्दा धेरै परीक्षार्थीले परीक्षा दिँदै छन्। त्यहाँ ३ सय ७८ जना परीक्षार्थी हुन् छन्। सबैभन्दा कम रुपाको चन्द्रप्रभा मावि, भिरचोकबाट १ सय १३ जना परीक्षार्थीले परीक्षा दिँदैछन्।

अमरसिंहका ५ तथा खुलातर्फ १ जना दृष्टिविहीनसहित अन्य ४ न्यून दृष्टि भएका विद्यार्थीले परीक्षा दिँदैछन्। पोखराको सिर्जना बहिरा माविबाट १६ जना सुस्तश्रवण परीक्षार्थी छन्।
शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख आचार्यले परीक्षा मर्यादित बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए। उनले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले पनि आफ्ना विद्यार्थीलाई अवाञ्छित क्रियाकलाप नगर्न, विद्यालयमा निषेध गरिएका सामान नलैजान, परीक्षामा आवश्यक कलम, प्रवेशपत्र, ज्यामिती बक्स लिएरै जान परीक्षार्थीलाई सचेत पार्नुपर्ने सुझाव दिए।

प्रकाशित: १४ चैत २०८० १७:३६ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast