प्रधानमन्त्रीले गरे बालबालिकासँग भलाकुसारी

विजय नेपाल ३ चैत २०८० १९:१४
290
SHARES
प्रधानमन्त्रीले गरे बालबालिकासँग भलाकुसारी पोखराको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका बालबालिकासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

पोखरा– प्रधानमन्त्री आफ्नो स्कुल भ्रमणमा आउने भएपछि विद्यालय परिवार बिहानैदेखि तयारीमा थियो। अझ विद्यार्थी त झनै उत्साहित थिए आँखै अगाडि प्रधानमन्त्री देख्ने कुरा सुन्दा। नभन्दै शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कडा सुरक्षाबीच आइपुगे।

हातहातमा फूल लिएका विद्यार्थीले बडो स्नेहले स्वागत गरे। प्रधानमन्त्री प्रचण्डले तिनै विद्यार्थीसँग केहीबेर भलाकुसारी गरे। उनीहरुका कुरा सुने। सामूहिक फोटो खिचे। करिब आधा घण्टासम्मको बसाइमा प्रधानमन्त्रीले विद्यालयको अवलोकन तथा निरीक्षण गर्नुका साथै छोटो सम्बोधन गरी सहयोगको वचन पनि दिए।

प्रधानमन्त्रीसँग भोलिका कर्णाधार सानासाना विद्यार्थीको रमाइलो यो भलाकुसारी हो, सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको। पोखरा महानगरपालिका वडा १४, मझेरीपाटनस्थित विद्यालय सहिद तथा बेपत्ता परिवारका छोराछोरी पढाउनका निम्ति १४ वर्षअघि सञ्चालनमा आएको हो।

प्रधानाध्यापक कल्पना चिलुवालले प्रधानमन्त्री प्रचण्डले विद्यालयको अवलोकन तथा निरीक्षण गरेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले विद्यार्थीलाई राम्रोसँग पढ्न र ठूलो मान्छे हुनुपर्ने सुझाव दिनुभयो। विद्यालयको बारेमा पनि जानकारी लिनुभयो।’

छोटो सम्बोधनका क्रममा प्रधानमन्त्रीले विद्यालयलाई स्थायित्व प्रदान गर्न अनुदान बढाउने प्रतिबद्धता जनाएका छन्। विद्यालय प्रधानाध्यापक चिलुवालले विद्यालयको विगत, वर्तमान समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै हाल वार्षिक २ करोड १५ लाख रुपैयाँ मात्र अनुदान आउने गरेको बताइन्।

प्रधानमन्त्री प्रचण्ड योसहित तेस्रोपल्ट उक्त विद्यालय आएका हुन्। २०६६ सालदेखि भाडामा लिएर कक्षा केजीदेखि सञ्चालन सुरु भएको थियो। विद्यालयको २०६७ सालमा निर्मित भवन उद्घाटन उनै प्रचण्डले गरेका थिए। उक्त विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ३ सय ५२ विद्यार्थी पढ्छन्। तीमध्ये स्थानीय करिब डेय सय विद्यार्थी घरबाट आउजाउ गर्छन् भने बाँकीलाई आवासीय सुविधा दिइएको छ।

विद्यालयमा सबैभन्दा बढी सहिद तथा बेपत्ता परिवारका छोराछोरी छन्। प्राकृतिक प्रकोप, लोपोन्मुख, अल्पसंख्यक, दुर्गम भेग, विपन्न वर्गका बालबालिका पनि पढ्छन्। कक्षा ११ र १२ तर्फ विज्ञान र व्यवस्थापन संकाय सञ्चालित छ। विद्यार्थी कर्मचारी गरी यहाँ ३२ जना कार्यरत छन्। आवासीय सुविधामा धेरै ठूलो खर्च हुने प्रधानाध्यापक चिलुवालले बताइन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार लेकसाइडमा हुने एक भव्य समारोहमा पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast