‘ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ?’

हिमाल प्रेस ३० फागुन २०८० १४:५६ | Wednesday, March 13, 2024
‘ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ?’

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले नेपालको राजनीतिमा धोका र षड्यन्त्र हाबी हुने गरेको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घाँटी जोडे प्रधानमन्त्री प्रचण्डको बेहाल हुने पनि उनले बताए। प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका उनले तर फागुन २१ गते राजनीतिक समीकरण फेरेकोप्रति उनले आपत्ति प्रकट गरे।

‘प्रधानमन्त्रीको निर्णयमा मेरो आलोचना छ। मैले विश्वासको मत दिन्छु तर उहाँलाई मैले भन्नुछ’, उनले भने, ‘फागुन १८ गतेसम्म हामी प्रधानमन्त्रीसँगै थियौँ। तर म विदेश भएको बेला दुई दिनमै गठबन्धन फेरियो। जहाँ चार दलले हस्ताक्षर गरेका देख्यौँ। ’

पाण्डेले एकीकृत समाजवादी व्यक्तिवादविरुद्ध विद्रोह गरेर जन्मेको बताउँदै यस्तोमा प्रचण्डलाई आफूहरूले विष पिएर साथ दिएको दाबी गरे। ‘हामीले विष पिएर पनि तपाईंहरूलाई साथ दियौँ। तर हामीलाई बाटामा छाडेर, खोलाले ठुटो बगरमा छोडे जसरी हिँड्नुभयो’, पाण्डेले प्रधानमन्त्रीलाई भने, ‘यो भन्दा अनैतिकता अरु हुन सक्दैन।’

पाण्डेले आफूहरूको पार्टीबारे पनि सोच्न प्रधानमन्त्रीलाई आग्रह गरे। ‘ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ? यस्तो व्यवहारमा आपत्ति छ’, पाण्डेले अगाडि भने, ‘नेपालको अहिलेको यो राजनीति चरित्र शंका र षडयन्त्रबाट उँभो लाग्ने देखिँदैन।’

प्रकाशित: ३० फागुन २०८० १४:५६ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast