ललितपुर महानगरसँग भगिनी सम्बन्ध राख्दै कोरियाको चेओरवन सहर

हिमाल प्रेस १५ फागुन २०८० ११:५८ | Tuesday, February 27, 2024
ललितपुर महानगरसँग भगिनी सम्बन्ध राख्दै कोरियाको चेओरवन सहर

ललितपुर– कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङले ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाएका छन्। लीको सम्मानमा ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

जोङले ललितपुर महानगरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताए। उनले भने, ‘सुन्दर सहरमा निम्ता दिनुभएकोमा धेरैधेरै धन्यवाद।’ काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला आफूलाई धेरै राम्रो लाग्ने उनको भनाइ थियो।

लीले चेओरवन  र ललितपुरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि भ्रमण महत्त्वपूर्ण बताए। लीले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुखसहितको टिमलाई निम्ता दिँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चेओरवन सहरका असल अभ्यास आफूहरूले अनुसरण गरिरहेको बताए। प्रमुख महर्जन गत असोजमा कोरिया गएका थिए।

उप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेओरवनका मेयरसहितको समूहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताइन्। उनले कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नुपर्ने बताइन्।

मेयर ली आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका हुन्। तीनदिने भ्रमणमा उनीहरूले  पाटन दरबार क्षेत्र र बुङमतीका सम्पदा अवलोकन गर्नेछन्। यसैगरी पाटनको हेरिटेज रुटमा पैदलयात्रा गर्ने कार्यक्रम रहेको छ।

स्वागत समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सूचना अधिकारी देवप्रसाद गुरागाईँ, महानगरका प्रवक्ता एवम् वडा नं ९ का वडाअध्यक्ष राजु महर्जन, वडा नं. ११का अरोज खड्गीलगायत थिए।

प्रकाशित: १५ फागुन २०८० ११:५८ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast