अम्बर गुरुङको पूरा नभएको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

हिमाल प्रेस १५ फागुन २०८० ९:३९ | Tuesday, February 27, 2024
अम्बर गुरुङको पूरा नभएको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

काठमाडौँ- गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए। उक्त सपना अहिलेसम्म पूरा हुन सकेन।

उनको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा संगीत साधकले त्यही कुरालाई घच्घचयाइरहेका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको योगदानको सम्मानमा वरिष्ठ संगीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका संगीतकार हुन्, अम्बर गुरुङ। आजको कार्यक्रममा उहाँको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन्।

गुरुङसँग १५ वर्ष काम गरेका दीपक जंम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उनको सच्चा सम्मान हुने बताउँछन्।

उनले गुरुङ नेपाली गीत, संगीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रूपमा सम्झिए।

‘नेपालमा पनि गीत, संगीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरूको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ’, उनले भने।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो। उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए। उनका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिरे थिए। उनको पुर्खौली थलो भने गोरखा जिल्लाको रिसिङ हो।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका संगीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे।

उनले स्मरण गरे, ‘अम्बर दाइको आफ्नै गायन, शब्द र संगीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला… ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्को उहाँकै शब्द र संगीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ।’

 

प्रकाशित: १५ फागुन २०८० ९:३९ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast