काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका- ७, चाँगाथलीबाट लागुऔषध ब्राउन सुगर र पेस्तोलमा लाग्ने गोलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका- ७ का ३१ वर्षीय सुरेश उप्रेती, सोही स्थानका लायेक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मधुवन घर भई काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता रहेका छन्। उनीहरूलाई प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोषकुमार बुढाथोकीको टोलीले प्रक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा चाँगाथलीका नन्दकुमार कन्दङ्वाको घरबाट उनीहरूलाई बुधबार दिउँसो १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १७ ग्राम ब्राउन सुगर, पेस्तोलमा लाग्ने दुई थान गोली अन्य अवैध सामान बरामद गरिएको ललितपुरका एसपी नवराज कार्कीले बताए।