काठमाडौँ- जनमत पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले सरकारबाट मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय गरेको हो।
संघीय सरकारमा जनमतकी अनितादेवी साह संघीय मामिला तथा स्थानीय विकासमन्त्री छिन्। सत्ता गठबन्धन दलको बैठकमा आफ्नो पार्टीलाई बोलाउन छाडिएको र ‘बाइपास’ गरिएको भन्दै सरकारलाई दिएको समर्थन जनमतले फिर्ता लिने चर्चा चलेको थियो।
जनमत मधेश प्रदेश सरकारबाट पनि बाहिरिएपछि संघीय सरकारबाट पनि बाहिरिने आकलन गरिएको थियो। तर सचिवालय बैठकले भने तत्काल मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो।
बैठकमा अध्यक्ष सीके राउतले पार्टीको अबको कार्यदिशा समेटिएको राजनीतिक प्रस्तावना प्रस्तुत गरेका थिए। जसमा देशको समग्र राजनीतिक प्रणाली र शासकीय स्वरुपको बारेमा प्रस्ताव छ। साथै जेठ १५ गते गणतन्त्र दिवसका काठमाडौँमा बृहत् आमसभा गर्ने निर्णय पनि बैठकले गरेको छ।