ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

हिमाल प्रेस ११ पुष २०७९ १३:१९ | Monday, December 26, 2022
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा उक्त शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा भनिएको छ, ‘‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु।’

अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको र ज्येष्ठ नागरिकले जीवनभरको संघर्ष र भोगाइबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने सन्देशमा उल्लेख छ।

ज्येष्ठ नागरिकमा अन्तरनिहीत ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक भएको सन्देशमा भनिएको छ।

‘ज्येष्ठ नागरिकको मर्यादित एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, संघ÷संस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्दछ’, सन्देशमा भनिएको छ, ‘नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान गर्दछु।’

प्रकाशित: ११ पुष २०७९ १३:१९ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast