काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि विभागीय दुई टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब शनिबार प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन्।
पुलिस लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। पुलिस दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो। पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
आर्मीले ९ मध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो।
पुलिस र आर्मीले तेस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेका छन् । आर्मी तीनपटक उपविजेता बनेको छ।
उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: २० माघ २०८० ७:०६
प्रतिक्रिया