नेपालमै छाप्न थालियो हुलाक टिकट

हिमाल प्रेस १७ माघ २०८० ६:५७ | Wednesday, January 31, 2024
नेपालमै छाप्न थालियो हुलाक टिकट

काठमाडौँ- नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ।

यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो। हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो।

जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ।

जनक शिक्षाले आउने चैतसम्म एक करोड तीस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ। तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ।

चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अंकित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ।

बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अंकित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताए। यसअघि जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को प्रश्नपत्र र आन्तरिक राजस्व विभागको स्टिकरलगायतका सामग्री पनि छाप्ने गरेको थियो।

निर्वाचनको समयमा मतपत्र पनि जनक शिक्षाले नै छाप्ने गरेको छ । हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । जहाँ ३५ कर्मचारी खटाइएको छ ।

यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपियाँ तोकिएको छ। विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो । जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिए।

गोरखापत्र दैनिकबाट

प्रकाशित: १७ माघ २०८० ६:५७ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast