काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नाटक ‘मासिन्या’ले प्रस्तुत गरेको कथा आफ्नो जीवनसँग मेल खाएको बताएका छन्।
आइतबार थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हेरेपछि उनले आफ्नो विगतलाई स्मरण गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘म २५ पटक हिरासतमा परेको मान्छे। मासिन्यामा तामाङ जातिमाथिको दमनको इतिहासको कथामा मेरो पनि कथा मिलजुल देखिन्छ,’ उनले भने, ‘म तराईको मान्छे ८ कक्षा पढ्दा मात्र पहाड यस्तो हुन्छ भनेर टाढाबाट दाइको बिहेमा जाँदा देखेको थिएँ। दाइको बिहे पहाड नजिकै भएको थियो।’
हिँडेर जान खोज्दा सेनाले समाते भने यातना दिन्छन् भनेर साथीले डर देखाएको कुरा समेत उनले सुनाए।
मासिन्याले जल, जमिन, जंगल, संस्कृति, इतिहास र परम्परा खोसिएका तामाङ, थारु, चेपाङ समुदायको कथालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउँदै उनले यसलाई जनचेतनाकै रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार नाटकमा अभिनय, भावना, प्रकाश र संगीतको पनि उत्तिकै संयोजन छ।
राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्।
माघ २८ गतेसम्म मञ्चन हुने नाटकमा रुपेश तामाङ, रोहनी लामा,शीतल थोकर, सुनिल तामाङ, विकास लामा, विष्णु मोक्तान,रमिला मोक्तान, सानुमाया तामाङ, प्रशान्त वाइबा लगायत कलाकारहरूको अभिनय छ।