
काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन्। सोमबार शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बाल्दै उनले रटेर मात्रै नहुने बताए।
नेता कोइरालाले केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए। उनले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए।
‘अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उद्यमशिल बनाउन सक्दैन तबसम्म देश समृद्धिको बाटोमा जान सक्दैन,’ उनले भने।
कार्यक्रममा बोल्दै नेता कोइरालाले अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए। राम्रो प्राविधिक जनशक्ति तयार गर्दा वैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउने र स्वदेशमै बस्नेले पनि राम्रो आय–आर्जन गर्न सक्ने उनको भनाइ थियो।