घूससहित पक्राउ परेका दुईजना अधिकृत दोषी ठहर

हिमाल प्रेस १२ माघ २०८० १७:५६ | Friday, January 26, 2024
घूससहित पक्राउ परेका दुईजना अधिकृत दोषी ठहर

काठमाडौँ- सेवाग्राहीसँग घूस लिँदा लिँदै पक्राउ परेका दुईजना लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत प्रमुख मालपोत अधिकृत लेखा पनेरु महत र मोरङको सुन्दर हरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई विशेष अदालतले जनही ६-६ महिना जेल सजाय हुने ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार दुवै अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। ताप्लेजुङ मालपोतका प्रमुख मालपोत अधिकृत पनेरु महतलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो।

बुवाको नामको जग्गा दाखिला खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट उक्त घूस लिइसकेपछि पनेरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो।

उता मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत ढकाल पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सेवाग्राहीसँग घूस लिएको आरोपमा अख्तियारको टोलीले चलाएको भ्रष्टाचार मुद्दामा ढकाललाई पनि विशेष अदालतले शुक्रबार दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो।

अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको छ।

नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको इटहरी कार्यालयको टोलीले ढकालाई पक्राउ गरेको थियो।

प्रकाशित: १२ माघ २०८० १७:५६ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast