मुग्लिन-पोखरा सडक : यी ठाउँमा भइरहेको छ कालोपत्र

हिमाल प्रेस १२ माघ २०८० ७:०९ | Friday, January 26, 2024
मुग्लिन-पोखरा सडक : यी ठाउँमा भइरहेको छ कालोपत्र फाइल तस्बिर

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ। मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने-पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट कालोपत्र सुरु गरेको हो।

पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवम् सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए। उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ।

उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए। उनले भने,‘अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ। आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन्।’

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए। सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं.२०७८ जेठ २ गते सम्झौता भई वि.सं.२०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद वि.सं.२०८१ भदौसम्म रहेको छ। यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो।

धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताए। उनले भने,‘सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन्। धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो।’

मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो। हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुईपटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए। रासस

प्रकाशित: १२ माघ २०८० ७:०९ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast