सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे प्रकरण : अभियुक्त विकल र सुनील पक्राउ

हिमाल प्रेस १० माघ २०८० १८:०३
14
SHARES
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे प्रकरण : अभियुक्त विकल र सुनील पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ

गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई आयोगले बयानका लागि पटक-पटक आउन ताकेता गर्दा पनि नआएपछि नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरूलाई भोलि बिहीबार विशेष अदालतमा उपस्थित गराइनेछ। सुनिलमाथि नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोप लागेको छ भने विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको आरोप छ।

प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना रहेकाले दुवैलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना नै उनीहरूले विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले बताएको छ।

‘…नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको र विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति(पीआर)समेत लिएको’ अख्तियारले भनेको छ।

दुवैजना अनुन्सन्धानका क्रममा रहेकाले प्रमाण नष्ट गर्न सक्ने र भाग्न सक्ने देखिएकाले पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको अख्तियारले जनाएको छ।

दुई सचिवसमेत मुछिएको नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिलसहित ९ जनाविरुद्ध गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। त्यतिबेला पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। यस्तै, गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकलसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विकलसहित ९ जनाविरुद्ध मुद्दा हालेको थियो। अख्तियारले विकलविरुद्ध ६९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरेको थियो। अख्तियारले यससँग सम्बन्धितहरूसँग बयान लिने काम पनि गरिरहेको बताएको छ।

प्रकाशित: १० माघ २०८० १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast