सुर्खेतमा तेस्रो कर्णाली एक्सपो हुँदै

हिमाल प्रेस ४ माघ २०८० १८:२८ | Thursday, January 18, 2024
सुर्खेतमा तेस्रो कर्णाली एक्सपो हुँदै

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्सपो २०८० महोत्सव सञ्चालन हुने भएको छ। कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्त्वपूर्ण टेवा पुर्‍याउने उद्देश्यले कर्णाली एक्सपो सञ्चालन गर्न लागिएको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ।

एक्सपो माघ २६ गतेदेखि फागुन ५ गतेसम्म हुँदैछ। एक्सपोको तयारी तीव्र पारिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिए। उनी मूल आयोजक समिति प्रवक्ता एवं  प्रचारप्रसार संयोजकसमेत हुन्।

उनले यसपटक कर्णाली एक्सपो आयोजना गर्नुको मुख्य तीनवटा कारण रहेको बताए। पहिलो, संघले स्थापना गरेको व्यवसायी राहत अक्षय कोषमा रकम अभिवृद्धि गरी एक करोडसम्म पुर्‍याउने, दोस्रो, संघअन्तर्गत रहेका वस्तुगत समितिहरूका लागि बेग्लै बैठक कक्षसहित उपकरणको व्यवस्थापन गर्ने र तेस्रो, निजी क्षेत्र र संचारमाध्यमबीच आपसी समन्वय गर्दै आर्थिक क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूको सामाजिक सुरक्षाका लागि पाँच लाखसम्मको अक्षय कोष खडा गर्ने उनको भनाइ छ।

एक्सपो वीरेन्द्रनगर नगरपालिका अगाडिको खुलामञ्चमा सञ्चालन गर्न लागिएको हो। एक्सपोमा करिब ५ सय वटासम्म स्टल हुनेछन्। स्थानीयलाई स्टलमा प्राथामिकता दिइने भण्डारीले बताए।

स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगको उत्पादित वस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको संघले जनाएकाे छ।

देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्यासलगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ।

एक्सपो करिब ५ लाखले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ।

प्रकाशित: ४ माघ २०८० १८:२८ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast