शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

हिमाल प्रेस ४ माघ २०८० १०:५२ | Thursday, January 18, 2024
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

कञ्चनपुर- शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अंकित ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ।

नेपाल पन्छी संरक्षण संघ (वीसीएन) र प्रकृति पथ प्रदर्शक संघ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो। बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर राखिएको छ।

यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन्।

यसैगरी सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अंकित गरिएको छ। होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ।

‘विश्वमै दुर्लभ लोपोन्मुख चरा जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गरेका छन्’, प्रकृति पथ प्रदर्शक संघ शुक्लाफाँटाका कार्यसमिति सदस्य सुवन चौधरीले भने, ‘चरा प्रेमी तथा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सहजताका लागि होर्डिङ बोर्ड राखेका हौँ।’

निकुञ्जको पर्यटन प्रवद्र्धन हुने गरी पर्यटक सहयोगी चरा चिनारी बोर्ड राखिएको उनको भनाइ रहेको छ। चराका तस्बिर अंकित होर्डिङ बोर्ड नेपाल भारत सीमा गड्डाचौकी र निकुञ्ज प्रवेशद्वार अगाडि राखिएको छ।

अन्य स्थानमा समेत चराका तस्बिर भएका बोर्ड राख्ने कार्यक्रम रहेको पथप्रदर्शक सङ्घका अध्यक्ष खेम भण्डारीले बताए। निकुञ्जमा रहेका लोपोन्मुख चराको संरक्षण र प्रचारप्रसारमा टेवा पुर्‍याउने बोर्ड राखिएको उनको भनाइ छ।

निकुञ्जमा विश्वका दुर्लभ चरा २४ र अन्य चार सय ६५ चरा पाइने जनाइएको छ।किराफट्यांग्रा नियन्त्रण गर्न, बीउ छर्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा चराले सहयोग पुर्‍याउने गरेका छन्।

यसका अतिरिक्त चराले पर्यापर्यटनमा टेवा पुर्‍याउने कार्यसँगै वातावरणको शोभा बढाउन, विभिन्न धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व बोकेका हुन्छन्।

प्रकाशित: ४ माघ २०८० १०:५२ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast