मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुई जनालाई १७ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन्।
कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरूलाई गैरीगाउँबाट पक्राउ गरेको हो। पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानोलाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ। पक्राउ परेका गोले र स्याङ्तानलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो।
जिल्ला अदालतबाट कैद तथा जरिबाना ठहर भएर फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले खोजलतासका क्रममा घरबाटै पक्राउ गरेको हो। पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत मकवानपुर आइतबार नै उपस्थित गराएको छ।