काठमाडौँ- राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभामा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई मनोनीत गर्न प्रस्ताव गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी राष्ट्रपतिद्वारा मनोनीत हुने महिला सदस्यका लागि पौडेलको नाम प्रस्ताव गरेका हुन्।
‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ। त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रियसभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ’ केसीले विज्ञप्तिमार्फत भनेका छन्।
यसअघि उक्त पदमा तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेकी नेत्री विमला राई पौडेललाई मनोनीत गरेकी थिइन्। विमलाको पदावधि आगामी फागुन २१ गतेदेखि रिक्त हुँदैछ।
मनोनीतसहित राष्ट्रियसभाका २० सदस्य पद रिक्त हुँदैछ। त्यसका लागि माघ ११ मा निर्वाचन हुँदैछ। जनमोर्चाले माघ ११ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि अपिल गरेको छ। सत्ता गठबन्धन दलले निर्वाचन हुने १९ वटै पद भागबन्डा गरेर साझा उम्मेदवार तय गरेका छन्। जनमोर्चाकी नेत्री दुर्गा गत प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर पनि प्युठानमा नेकपा एमालेकी सूर्य थापासँग पराजित उम्मेदवार हुन्।