यस्तो छ जसपाको महाधिवेशनसम्बन्धी कार्यतालिका

हिमाल प्रेस २७ पुष २०८० २०:५७
6
SHARES
यस्तो छ जसपाको महाधिवेशनसम्बन्धी कार्यतालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको ललितपुरमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सहभागी नेता। तस्बिर :रासस
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ।   पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने महाधिवेशनको कार्यतालिका पारित गरेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
कार्यतालिकाअनुसार संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकिएको छ। यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार संगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत १० गतेसम्म पठाइसक्नुपर्नेछ।
सदस्यता वितरण गर्दा मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी संगठनमा आबद्ध तथा पार्टी संगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको प्रमुख बस्नेतले बताए। ‘पार्टी संगठित सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ, जसका लागि आगामी चैत १० गतेसम्मको समयावधि तोकिएको छ’, उनले भने।
संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्नेछ। महाधिवेशन प्रतिनिधिहरूको चयन तथा निर्वाचन आगामी चैत २० गतेदेखि वैशाख २० गतेसम्म गरिसक्नुपर्नेछ। यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा आगामी वैशाख ३० गतेभित्र पठाइसक्नुपर्ने छ।
महाधिवेशनसम्बन्धी प्रक्रिया एवं कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने प्रमुख बस्नेतले जानकारी दिए। महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न मस्यौदा समिति गठन हुने भएको छ। जसअन्तर्गत विश्लेषणात्मक राजनीतिक एवम् सङठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी दस्तावेज, पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज) रहेका सो पार्टीले जनाएको छ।
प्रकाशित: २७ पुष २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast