
काठमाडौँ- दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन। जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेकाे दुःखका पहाड र पीरको भारी केही कम भएको छ।
उनले खुसी हुँदै भनिन्,‘भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरूलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।’ अहिले उनका ८ वर्षीय जेठो छोरा योगेन्द्र र ४ वर्षीय छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन्।
मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरूलाई अस्पताल पुर्याउन त परै जाओस् बिहान बेलुका छाक टार्न धौधौ थियो। ‘बाबुहरूलाई विद्यालय पठाउन त परै जाओस् घरमा हेरचाह गर्न अर्को सहयोगी राख्नुपर्ने अवस्था थियो’, उनले भनिन्,‘छाक टार्न आफैँ कृषि कर्ममा जुट्नु पर्दथ्यो। आफ्नो कमाइले छाक टार्न धौधौ पर्छ। उपचार गर्न कहाँबाट पैसा ल्याउनु। उपचार गर्ने पैसा नभएर छोराहरूलाई अस्पताल लान सकेको थिइनँ।’
नेपाल नेत्रज्योति संघले दातृ निकाय सीवीएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए।
प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिविन्दु भएको पत्ता लागेकाे थियाे। ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किनसक्ने जनाउँदै संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए।
मीनाले भनिन्,‘मैले मेरो दुःखका व्यथा सरहरूलाई सुनाएँ। पैसा नभएर छोराहरूलाई उपचार गर्न अस्पताल लान नसकेको कुराहरू भने। उहाँले सहयोग गर्ने बताउनुभयो। छोराहरूलाई लिएर आँखा अस्पताल गएँ। चिकित्सकले जन्मजात मोतिविन्दु भएकाले शल्यक्रिया गर्नुपर्छ भन्नुभयो।’
अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो। उनले भनिन्,‘चिकित्सकले छोराहरूको संसार हेर्ने दृष्टि फर्काइदिए। उज्यालो संसार देख्न सफल भए।’
एक महिनाका अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ। शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठ लगायतका टोली संलग्न भएका थिए।
मीनाले भनिन्,‘परिवारमा खुसी फर्किएको छ। आफ्नो छोराहरू पनि अरू बच्चाहरू जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ। आफ्नो दैनिक गतिविधि अन्यको सहायताबिना गर्न सक्ने भएका छन्। आफ्नो बच्चाहरूलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ। भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन्। मेरा छोराहरूलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरूलाई धेरै धेरै धन्यवाद।’
विगतमा उनी छिमेकीका नानीहरू पढ्न विद्यालय गएका देख्दा, रमाएर खेल्दा भगवान्ले कुनै जन्ममा गरेको कर्मको सजाय दिएको होला भनेर चित्त बुझाउने गर्थिन्। उनी आफ्नो छोराहरू पनि अरू बच्चा जस्तै पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना राख्थिन्। घर नजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन्।
उनले भनिन्,‘कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो। गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान्।’
उनकाे भनाइ छ,‘छोराहरू हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरू बित्दै गए। बच्चा विस्तारै हुर्किंदै गए। हुर्किंदै जाँदा रोग लागेको पत्तै भएन। श्रीमान्लाई बुढ्यौलीले पनि छुँदैगयो। श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो। उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनैपर्यो।’ रासस