काठमाडौँ- आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जन लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। तपस्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जन प्रहरीको फरार सूचीमा थिए।
उनलाई मंगलबार साँझ काठमाडौँबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले हिमालप्रेसलाई जानकारी दिए। ‘उहाँलाई पक्राउ गरिएको छ। विस्तृत भोलि सार्वजनिक गर्छौँ’, उनले भने।
बम्जनमाथि नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सर्लाहीका अनुयायीलाई बेपत्ता पारेको आरोप छ। सीआईबीले बम्जनलाई नियन्त्रणमा लिनका लागि उनी बस्ने गरेको आश्रम २०७६ साल पुसमा सिन्धुपाल्चोकको इन्द्रवती-६ बाँडेगाउँमा छापा हानेको थियो। त्यस्तै २०७७ मा असारमा सिन्धुलीको कमलामाई नगरपालिका-९ पैरेमा रहेको आश्रममा पनि छापा हानेको थियो। तर उनी भेटिएका थिएनन्।