प्रहरी हत्या आरोपमा सफाइ पाएका एमाले सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन

हिमाल प्रेस ८ पुष २०८० १५:३३ | Sunday, December 24, 2023
प्रहरी हत्या आरोपमा सफाइ पाएका एमाले सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन

काठमाडौँ– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सांसद पदबाट भएको निलम्बन फुकुवा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन्।

जिल्ला अदालतबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्‌मा सहभागी हुनुपर्ने माग उनले निवेदनमा गरेका छन्। संघीय संसद्‌का निमित्त महासचिव पदमप्रसाद पाण्डेयले निवेदन आएको बताए।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा उनलाई जिल्ला अदाललते धरौटीमा रिहा गरेपछि उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश गरेको थियो। थुनामा बस्नुपर्ने भएपछि उनी फरार रहेका थिए।

तत्कालीन समयमा जसपामा रहेका उनी एमाले प्रवेश गर्दै प्रतिनिधिसभा निर्वाचनमा भाग लिए। उनले महोत्तरी–१ बाट निर्वाचन लडेका थिए। कोइरी हाल निलम्बित अवस्थामा रहेकाले उनले फैसलाको जानकारी सहित निलम्बन फुकुवाका निवेदन दिएका छन्।

जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते थमन विक हत्याको मुद्दामा ९ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। तर कोइरीलाई सफाइ दिएको थियो। सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद् सचिवालयमा पत्र लेखेका छन्। कोइरीको निवेदन प्रक्रियामै रहेको पाण्डेयले बताए।

प्रकाशित: ८ पुष २०८० १५:३३ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast