तामाकोसीको सेयर लिलाम बिक्री खुल्ला हुने

हिमाल प्रेस ७ पुष २०८० ८:१२ | Saturday, December 23, 2023
तामाकोसीको सेयर लिलाम बिक्री खुल्ला हुने

दोलखा- हकप्रदमा सेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ।

तामाकोसीको एक करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको आयोजनाले जनाएको छ। इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ।

प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ मूल्य नघट्ने गरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार न्यूनतम एक सय कित्ताका लागि पनि आवेदन दिन सकिनेछ।

पाँच लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ। मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा हकप्रद सेयर बिक्री नभएपछि पुस दोस्रो हप्तादेखि बिक्री नभएको सेयर लिलाम प्रक्रियामा जान लागेको हो। जिल्लावासीमा आयोजनाको हकप्रद सेयरप्रति आकर्षण नदेखिँदा सेयर लिलाम बिक्रीमा गरिएको हो।

प्रकाशित: ७ पुष २०८० ८:१२ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast