जाडोमा छालाको सुरक्षा यसरी गरौँ ?

हिमाल प्रेस ३ पुष २०८० ७:५३ | Tuesday, December 19, 2023
जाडोमा छालाको सुरक्षा यसरी गरौँ ?

जाडो मौसममा छालामा धेरै समस्या आउने गर्छ। जाडो सुरु भएसँगै छाला सुक्खा हुने रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन थाल्छ। जसको समाधान विभिन्न उपायबाट गर्न सकिने छालारोग विशेषज्ञको धारणा छ।

जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन। सौन्दर्यविद् सुषमा महराले भनिन्, ‘यो समयमा बाहिरी वातारण सुक्खा हुनाले छालामा सोझै असर गर्छ। अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो–धुवाँले छालालाई थप नोक्सान पुर्‍याउँछ।’

उनका अनुसार विशेष गरी छाला संवेनदशील भएकालाई यस्तो समस्याले मानिसलाई सताउँछ। जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ।

जाडोमा छाला सुक्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्छन्। त्यसो गर्नाले छालाको समस्या समाधान हुनुको साटो झन् बढेर जाने उनले बताइन्। उनले कतिपयलाई छालाको एलर्जीसमेत हुने हुनाले जाडोमा लगाइने क्रिम (मोस्चराइजर) छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने सुझाव दिइन्।

सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छाला अनुसारको क्रिम (मोस्चराइजर) छनोट गर्नुपर्ने सुझाव उनको छ। जाडोमा धेरैले घामको विकिरणसँग सुरक्षा गराउने क्रिम (सनस्क्रिन) प्रयोग गर्दैनन्।

महराले थपिन्, ‘जाडो होस् वा गर्मीको मौसम, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ। यसले छालालाई सूर्यको किरणबाट बचाउँछ।’

यसै गरी हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ। जाडो महिनामा हातको छाला जोगाउन पन्जा लगाउनुपर्ने सुझाव दिँदै विशेष गरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रूपमा पन्जा लगाउनु पर्छ।

मनतातो पानीले नुहाउनुपर्छ। नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनु पर्छ। यसले पनि शरीरलाई सुक्खा हुनबाट बचाउँछ। कसैको निकै सुक्खा छाला छ भने नुहाउने पानीमा नुन राखेर नुहाउँदा पनि छाला सुक्खा हुन पाउँदैन।

छालालाई स्वस्थ राख्नेभन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छौँ। यद्यपि यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ। त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ। स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्ने उनको सुझाव छ।

उनका अनुसार जाडोमा हिटर तापिन्छ। लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई रुखो बनाउँछ।

प्रकाशित: ३ पुष २०८० ७:५३ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast